काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर पक्षको बैठक शुरु भएकाे छ । दिउँसो २ बजे तत्कालिन राष्ट्रिय जनता पार्टी (राजपा)को कार्यालय बबरमहलमा अध्यक्ष ठाकुर पक्षको बैठक बस्न लागेको जसपाका केन्द्रीय सदस्य सन्तोष मेहताले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो । उहाँका अनुसार बैठक बिहान ८ बजेको लागि तय गरिएको थियो । तर, जसपाका कार्यकारिणी सदस्य तथा नेपाल सरकारका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री राजकिशोर यादव नआउनुभएपछि बैठक ११ बजेका लागि सारिएको थियो ।
तर, ११ बजेपनि बैठक बस्न ढिला हुने भएपछि अहिले दिउँसो २ बजेका लागि बैठक बोलाइएको उहाँले जनााए । आइतबार निर्वाचन आयोगमा बहुमत पुर्याएर दाबी पेश गर्न अध्यक्ष ठाकुले बैठक बोलाउनुभएको हो ।
आयोगले जेठ १९ गते अध्यक्ष ठाकुरसँग केन्द्रीय समितिका पदाधिकारीको निर्णको हस्ताक्षर माग गरेको थियो । आयोगले माग गरेअनुसार कागजात महन्थ ठाकुर पक्षले अझै बझाएको छैन । अध्यक्षद्वय ठाकुर र उपेन्द्र यादवले एक अर्कालाई पार्टीबाट निष्काषित गर्दै कारबाहीबारे निर्वाचन आयोगलाई जानकारी गराउनुभएको थियो । पत्र बुझाएको दुई दिनपछि उल्लेखित ढाँचाअनुसार निवेदन दिने प्रक्रिया नपुगेको भन्दै आयोगले सोही अनुसार निवेदन दिन यादव पक्षलाई भनेको थियो भने ठाकुर पक्षलाई कागजातहरु पनि नपुगेको हुनाले नियमवालीको अनुसूची १८ को ढाँचा अनुसार निवेदन दिन र आवश्यक कागजात बुझाउन भनेको थियो ।
यीनै प्रक्रियाबारे पूरा गर्न अध्यक्ष महन्थ ठाकुरले आज बैठक बोलाउनुभएको हो ।
निर्वाचन आयोगबाट जनता समाजवादी पार्टीलाई अनुसूचीको ढाँचा अनुरुपको पत्र पेश गर्ने समय आज साँझ ५ बजे सकिदैछ । तर अहिलेसम्म पनि आयोगमा जसपाका कुनै पक्षबाट पनि कुनै पत्र प्राप्त नभएको निर्वाचन आयोगका सह–प्रवक्ता कमलप्रसाद धमलाले जानकारी दिनुभएको छ ।
यसअघि जसपाका केन्द्रीय समितीका अध्यक्ष महन्थ ठाकुरले जेठ १८ गते को बैठकले पार्टीको केन्द्रीय कार्यकारिणी समितिमा रहनुभएका उपेन्द्र यादवलाई पार्टीको विधान, नीति र निर्णयहरु विपरित कार्य गरेको भन्दै पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासन गरिएको व्यहोरा जनाउदै दलको दर्ता किताबबाट यादवको नाम हटाई अध्यावधिक गर्न निर्वाचन आयोगमा अनुरोध पत्र पठाइएको थियो ।
यसैगरी, जसपाका अध्यक्ष उपेन्द् यादवले पनि पार्टी विधान, नीति र निर्णयहरु विपरित कार्य गरेको भन्दै महन्थ ठाकुर, राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण लगायतका चार नेताहरुलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि पार्टीबाट निष्कासन गरिएको व्यहोरा दलको दर्ता किताबबाट हटाई अध्यावधिक गर्न आयोगमा पत्र पेश गरेको थियो ।
तर, आयोगले राजनीतिक दल सम्बन्धी नियमावली २०७४ को अनुसूची बमोजिम पत्र पठाउन माग गर्दै दुवै पत्र मानेको थिएन ।
निर्वाचन आयोग अन्तर्गतका उपन्यायधिवक्ता गुरुप्रसाद वाग्लेका अनुसार अनुसूची अनुसार पत्र प्राप्त नभएपछि आयोगले मानेन । चार जनालाई कारबाही गरेको व्यहोरा आयोगको दल दर्ता किताबमा अध्यावधि गर्न आग्रह गरिएको थियो । कोभिड–१९ को महामारीका कारण उहाँहरुले अनुसूची बमोजिमको पत्रका लागि सात दिनको म्याद थप गर्न आग्रह गर्नुभएको थियो, जुन म्याद आज दिउँसो ५ बजे सकिदैछ, वाग्लेले जानकारी दिनुभयो ।


















