खस साम्राज्यको चिहान बन्यो बाइसी चौबीसी राज्यको जग

24

–चन्द्रप्रकाश बानियाँ

खासगरेर चौधौं शताब्दीको उत्तरार्ध र पन्ध्रौं शताब्दीको पूर्वार्धमा खस साम्राज्यको पूर्णरुपमा विघटन भयो र अनेकौं ससाना भुरे टाकुरे राज्यहरुको जन्म हुन गयो । कर्णली क्षेत्रका राज्यहरुलाई बाइसी भनियो र गण्डकी क्षेत्रका राज्यहरु चौबीसी भनेर चिनिए । बाइसी चौबीसी भन्ने परिचय राज्यहरुको संख्याको आधारमा बनेको हो होइन भनेर किटान गर्न  सकिदैन । किनकि राज्यहरुको संख्या बाइस वा चौबीस निरन्तर रहेको देखिदैन । संख्या घटबढ हुने गरेको देखिन्छ । न त्यो संख्या न्यूनतम थियो न अधिकतम । राज्यहरुको संख्या कहिले पचासभन्दा बढी रहेको देखिन्छ भने कहिले चालीसभन्दा कम रहेको पनि भेटिन्छ । भेरी पश्चिमका राज्यहरुलाई बाइसी र पूर्वका राज्यहरुलाई चौबीसी भनिए तापनि भेरी पश्चिमको प्युठानलाई बाइसी राज्यको कित्तामा गणना गरेको देखिन्छ । त्रिशुली पश्चिमका राज्यहरुलाई चौबीसी भनिए तापनि गोर्खालाई गणना नगरेको पनि देखिन्छ ।

पश्चिम तिब्बततिरबाट तल झरेका नागराजले स्थापना गरेको खस साम्राज्यको कालक्रममा पालवंश हुँदै वर्मा वंशको हातमा परेपछि पतनको सुरुवात भएको थियो । चाङ चुब ग्याल्त्सेनले गरेको तिब्बत एकीकरणको सन्दर्भमा पश्चिम तिब्बतको ङारी प्रदेश खसहरुको हातबाट खोसियो । महाकाली पश्चिमको कुमाउ गढवाल पनि अलग राज्य बन्यो । कालान्तरमा त्रिशुली पश्चिम र महाकाली पूर्वको भूभागमा पनि आन्तरिक विद्रोहको आगो सल्कियो र बाइसी चौबीसी राज्यहरु अस्तित्वमा देखा परे । यसरी खस साम्राज्यको चिहानबाट उठेका बाइसी चौबीसे राज्यहरुको अस्तित्व चौधौं शताब्दीको अन्तदेखि इसं १७८० सम्म अविछिन्न रह्यो । बाइसे भनेर चिनिने राज्यहरुमा ५०० घरधुरी भएको उदयपुरको कार्की राज्यजस्ता नाम मात्रका राज्यहरु पनि अस्तितवमा रहेको प्रमाण लाग्दछ । बाइसे भनेर चिनिने राज्यहरुमा मूलतः बझाङ्, थलहरा, बाजुरा, अछाम, दर्ना, मंगलसेन, डोटी, रुकुम, भुसिकोट, बाँफीकोट, गोेथामकोट, गाहारीकोट, कालागाउँ, गजूर(गजुलीकोट), दर्माकोट, रोल्पा, जाजरकोट, दुल्लु, जुम्ला, छाना, बाजकोट, साततला, र दैलेख रहेको देखिन्छ । दर्ना हजार घरधुरी भएको र उदयपुर ५०० घरधुुरीको मात्र थिए । यी राज्यहरु कहिले आपसमा गाभिन्थे र कहिले फुट्थे । अछाम टुक्रिएर दर्ना र मंगलसेन बन्यो । बझाङ्बाट चोइटिएर थलहरा बन्यो । बाइसीमध्ये शक्तिशाली भनेर जुम्ला, जाजरकोट, अछाम, बझाङ, दुल्लु र दैलेख मानिन्थे । बाइसे राज्यहरुको केन्द्र अर्थात नाइके जुम्ला थियो । इसं १७९० सम्ममा बाइसी राज्यहरुको अस्तित्व समाप्त भएको थियो ।

प्राचीन मगरात क्षेत्र अन्तर्गत विकसित भएका भुरेटाकुरे राज्यहरुलाई चौबीसी भनिन्थ्यो । यी राज्यहरुको संख्या पनि सधै घटबढ भइरहन्थ्यो । गोर्खाले चलाएको एकीकरणको बेलासम्म तनहुँ, लमजुङ, कास्की, ढोर, नुवाकोट, सतहुँ, भिर्कोट, ग¥हौं, सल्यानकोट, रिसिङ, घिरिङ्, पँैयु, पर्वत, गलकोट, मुसिकोट, इस्मा, धुर्कोट, प्युठान, गजुल, खुम्री, अर्घा, गुल्मी, र खाँची रहेको देखिन्छ ।

नागराजका वंशज चल्ल, देव हुँदै मल्लमा रुपान्तरित भए । तिनै मल्लहरुको हातबाट पालवंशी पुण्यपालले खस साम्राज्य दाइजोमा प्राप्त गरे । घरज्वाई बनेका पुण्यपालले आफ्नो थर फेरेर मल्ल बने । पुण्यपालका उत्तराधिकारीको हातमा खस साम्राज्यको बागडोर रहेकै बेलामा वर्मावंशको उदय भयो । यशो वर्माको नाम तिब्बती वांवलीमा पनि परेको छ । पृथ्वी मल्ल, सूर्य मल्ल र अभय मल्ल समेत तिनवटै राजाहरुका अभिलेखहरुमा यनिको नाम जोडिएको देखिन्छ । महामात्यको रुपमा उदाएका यशो वर्माका छोरा मलय वर्माले केही समयसम्म अभय मल्लसंगै द्वैध शासन गरेको देखिन्छ । मलय वर्माले पनि पुण्य पालले झै राज्यसत्ता प्राप्त गरेका हुन भनिन्छ । यिनकी रानीको नाम रतनमाल रहेको यियो । नामान्तमा माला जोड्ने परम्परा सिंजा दरबारमा रहेको देखिने हुनाले रतनमाला राजकुमारी थिइन भन्ने अनुमान गर्न सकिन्छ ।

मलय वर्माले ज्वाईका हैसियतले राजगद्दी प्राप्त गरेका हुन भन्न सकिने अवस्था देखिन्छ । इसं १३८९ को एउटा ताम्रपत्रमा यीनलाई  श्री श्री श्री महाराजधिराज भनिएको छ । त्यसभन्दा अगाडि यीनले कालीकोटको खाँडाचक्र वा दैलेखको विलासपुरबाट र अभय मल्लले सिंजाबाट राज्य चलाएको देखिन्छ । अर्थात लामो समयसम्म खस साम्राज्यमा मल्ल र वर्मा वंशको द्वैध शासन चलेका प्रमाणित हुन्छ । अभय मल्लको इसं १३९१ के अभिलेखमा राजधानी सिंजा उल्लेख नभएको भेटिएको छ । त्यसको अर्थ त्यतिबेलासम्म अभउ मल्ललाई सिंजाबाट हटाइसकिएको थियो भन्ने लाग्दछ । सम्भवतः उनको राज्य मुगु र डोल्पामा मात्र सीमित थियो ।

मलय वर्माकै समयमा डोटीले विद्रोह ग¥यो । डोटी अलग भए पनि खस साम्राज्यको बाँकी भूभाग उनकै नियन्त्रणमा थियो । तर वर्मा वंश सत्तामा आएपछि खस साम्राज्य धेरै समयसम्म टिक्न सकेन । साम्राज्यको विखण्डन र विघटनको कारण मलय वर्माको अदूरदर्शि भाइभतिजाप्रेम बन्न गयो । उनका अनेकौं श्रीमतीहरु थिए । बाह्र भाइ छोराहरुबीच  शक्ति संघर्ष चलेको थियो भन्ने कुरा एउटा अभिलेख प्रमाण फेला परेको छ । मलय वर्माका मुख्य उत्तराधिकारी जेठा छोरा सुमेरु वर्मा कमजोर हुनु पनि एउटा अर्को कारण थियो । उनले भाइभारदार र सामन्तहरुलाई नियन्त्रणमा राख्न सकेनन् । सुमेरु वर्मा कमजोर भएकै हुनाले मलय वर्माले सामन्तका रुपमा नियुक्त गरेका वर्मा परिवारकै शक्तिशाली व्यक्ति मेदिनि वर्मा सिंजाको राजा हुन पुगे । यिनले आफ्ना भाइहरुलाइ र ज्वाइलाई समेत राज्यभाग लगाएर बाँडिदिए । ज्वाई बलिराजलाई जुम्लाको राज्य सुम्पेर आफू जाजरकोट (जगतिपुर) मा बस्न थाले । उनका भाइहरुले लामो समय राज्य जोगाउन सकेनन् । राज्य विभाजन र विखण्डनको सूरुवात भयो । भाइभारदारहरले ससाना भूभागहरु कब्जा गर्न थाले । पुराना सामन्तहरुले स्वतन्त्र राज्यको घोषणा गर्न थाले । भारततिरबाट उक्लेका शरणार्थीहरुले पनि मौका छोपेर राज्य विभाजनलाई प्रोत्साहन गरे । खासगरेर कुमाउ गढवाल स्वतन्त्र हुनुको कारण त्यही थियो । खस राज्य आफै कमजोर हुँदै गएको र बाहिरी शक्तिको खतरा नरहेकोले सामन्त भारदारहरु ससाना राज्य खडा गर्न उत्साहित भए ।

बाइसी राज्यहरुमध्ये जुम्ला र डोटीबाहेक बाँकी कुनै राज्यहरुमा पनि क्षेत्रफल, जनसंख्या, आर्थिक तथा सैन्य क्षमताका दृष्टिले राज्यका लागि हुनुपर्ने न्यूनतम आधार रहेको देखिदैन । २० हजारभन्दा तल जनसंख्या भएका समेत अनेक राज्यहरु थिए । कुनै राज्यको सैन्यसंख्या २÷३ सय मात्र रहेको थियो । एक हजारसम्म वार्षिक आम्दानी हुने पनि स्वतन्त्र राज्य कायम भएको देखिन्छ । यहाँसम्म कि राज्यबाट दानमा प्राप्त क्षेत्रलाई पनि ब्राह्मणहरुले स्वतन्त्र राज्य घोषणा गरेका थिए । उदयपुरको राज्य त्यसको उदाहराण हो । बाइसी राज्यहरु आकार र क्षमतामा साना र कमजोर रहेका हुनाले तिनमा सुरक्षाको चिन्ता रहन्थ्यो । त्यसैले प्रत्येक घरधुरीबाट कम्तिमा एकजना अनिवार्य सैनिक सेवामा रहनुपर्ने नियम बनाइएको हुन्थ्यो । सुरक्षा चिन्ता बाह्य आक्रमणको भने थिएन । त्यो आन्तरिक खतराको मनोविज्ञान थियो । अर्थात राज्य नामको मुखियाली जनातामाथिको शोणणमा आधारित थियो र जनताको सम्भावित विद्रोहको सधै खतरा रहन्थ्यो । त्यही खतराकै कारणले राजदरबार विकट पहाडको टुप्पोमा राखिन्थ्यो । मजबुत किल्ला समेत निर्माण गरिन्थ्यो । सैन्य भर्तीको परम्परा र राजदरबारको अवस्थितिले राजाहरु सदा भयभित रहन्थे भन्ने प्रमाणित गर्दछ ।

गण्डकी क्षेत्रमा बनेका भुरेटाकुरे राज्यहरुलाई चौबीसी भनियो । कर्णाली क्षेत्रका बाइसी राज्यहरुसँगसँगै  चौबीसी राज्यहरुको पनि उदय भएको हो । तर केही अर्थमा बाइसी र चौबीसीबिच भिन्नता थियो । बाइसी राज्यहरु सबै खस जातिका राज्ययहरु थिए । तर गण्डकी प्रदेशमा भने स्थानीय खसेत्तर जातिहरुको बसोबास ठूलो थियो । सम्भवतः यो क्षेत्र खस साम्राज्यमा गाभिनुपूर्व तत्कालीन लिच्छवी शासन अन्तर्गत थियो होला । लिच्छवी अभिलेखहरुमा “मंग्वर विषय” भन्ने शब्दावली उल्लेख भएबाट त्यही कुराको संकेत मिल्दछ । विषय भन्नाले तत्कालीन समयमा जिल्ला वा क्षेत्र भन्ने अर्थ लाग्दथ्यो भनिन्छ । खस साम्राज्यको विघटनपछि यस क्षेत्रमा ससाना स्वतन्त्र राज्यहरु जन्मिए । पन्ध्रौं शताब्दीमा खस साम्राज्यबाट मुक्त भएको चौबीसी राज्यहरुको समूह गोर्खा राज्यको अङ्ग नबन्दासम्म स्वतन्त्र रह्यो । यी राज्यहरुमा सेन, शाह, शाही र मल्ल वंशका राजाहरु वंशानुगत शासन चलेको देखिन्छ ।

एघारौं शताब्दीको अन्ततिर स्थापना भएको खस साम्राज्य पन्ध्रौं शताब्दीको मध्यसम्ममा छिन्नभिन्न भएर मासियो । खस साम्राज्यमा मूलतः तिनवटा वंशले शासन गरेको देखिन्छ । मल्ल, पाल र वर्मा समेतका तिनवटै वंशहरु खस थिए । मल्लवंशलाई उपेक्षा गरेर पाललाई राजसिंहासनमा राख्ने प्रताप.मल्लको चेष्टाले् खस साम्राज्यमा धमिरा लागिसकेको थियो । दुरुस्त त्यही प्रक्रियामा वर्मावंश सत्तामा आउनाले झण्डै पाँच शताब्दी पुरानोे खस साम्राज्यको अन्त निम्तियो । खस सामाज्यले मात्रै मृत्युवरण गरेको होइन, एउटा जेठो सभ्यता र सँंस्कृति समेत अस्तायो । खस जाति, खस भाषा, खस धर्म र खस संस्कृतिको इतिहासको पुरानो पातो छोपियो । तत्कालीन समयमा दक्षिण एशियाकै सबभन्दा ठूलो मानिएको साम्राज्यको गौरवपूर्ण इतिहासको पटाक्षेप भयो । राज्य मात्र होइन एउटा प्राचीन जातिको समूल नासको दूर्घटना निम्तियो । -जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here