राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण शुरू

244

काठमाडौं । राष्ट्रिय महिला भलिबल टिमको प्रशिक्षण आज (मंगलबार) बाट सुरु हुँदैछ। गत जेठ २१ गतेबाट सुरु हुने भए पनि केही दिनका लागि स्थगित भएको प्रशिक्षण आजबाट सुरु हुन लागेको हो।

‘कोभिडको टेस्ट र उपत्यका बाहिरका खेलाडी आइनपुगेका कारण समयमै सुरु भएन। आज दिउँसोबाट अभ्यास सुरु हुँदैछ,’ एनभीएका सचिव मनवीर छन्त्यालले जनाउनु भयाे ।

नेपाल भलिबल संघ (एनभीए) को गत जेठ १४ गते बसेको बैठकले जेठ २१ बाट प्रशिक्षण सुरु गर्ने बताए पनि संघले केही दिनका प्रशिक्षण स्थगित भएको बताएको थियो। ‘कोभिड–१९ को महामारी र जारी निषेध आदेशका कारण भ्याली बाहिरबाट खेलाडी आउन सकेनन्,’ एनभीएका सचिव छन्त्यालले प्रशिक्षण स्थगित भएपछि भनेका थिए, ‘प्रशिक्षण एक–दुई दिन पछि सर्छ त्यसपछि सुरु हुन्छ।’

यता जारी निषेध आदेश जारी रहे पनि अधिकांश खेलाडी आइपुगेकाले प्रशिक्षण सुरु गर्न लागेको उनले बताए। उनले अभ्यास स्थगित गर्ने क्रममा पनि प्रशिक्षणका लागि निषेध आदेश सकिने बेलासम्म नपर्खिने पनि जनाउनु भयाे ।

भलिबल संघले सम्भव भएका सबै खेलाडीहरूलाई यो निषेध आदेश नखुले पनि प्रशिक्षणमा बोलाएको थियो। संघले बोलाएको ३० खेलाडीमध्ये अहिले २५ खेलाडी प्रशिक्षणका लागि आइपुगेका छन्। ‘तीन खेलाडी विभागीय तालिममा रहेछन्। त्यस्तै अरू दुई खेलाडी पनि आउने क्रममा छन्,’ उनले भने।

उनले यसअघि काठमाडौंमा रहेका खेलाडीलाई बोलाएर प्रशिक्षण गराउनेबारे कुरा भए पनि कोभिड–१९ को परीक्षण गर्नुपर्ने भएका कारण ढिलाइ भएको जनाए ।

संघले गत चैतमा सम्पन्न एनभीए क्लब भलिबल लिगबाट ३० खेलाडी छनोट गरेर प्रशिक्षणमा सहभागी गराउने निर्णय गरेको थियो।  साथै जेठ १४ गते बसेको संघको बैठकले जगदिश भट्टलाई टिम सम्हाल्ने जिम्मेवारी दिने जनाएका छन्। प्रशिक्षणका लागि संघ उपाध्यक्ष निरोज मास्के, प्रशिक्षक भट्ट र प्रज्वलबहादुर सिंहको छनोट समितिले खेलाडी छनोट गरेको थियो। साथै ट्रेनरको जिम्मेवारी अन्जु श्रेष्ठले पाएकी छन्। फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपका लागि नेपाली टिमको बन्द प्रशिक्षण सुरु हुन लागेको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here