विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्षमा पनि दोहोरियाे

99

काठमाडौं । नयाँ बजेट घोषणा गर्दा विगतदेखि नै अर्थमन्त्रीहरूले कार्यान्वयनमुखी बजेट ल्याएको दाबी गर्दै आए पनि विनियोजित बजेट खर्च नहुने पुरानो रोग चालू आर्थिक वर्ष (आव) २०७७/७८ मा पनि दोहोरिएको छ ।

बजेट खर्च समयमै गर्न सरकारले विभिन्न सुधारका योजना ल्याएको दाबी गरे पनि यस वर्ष पनि ठूलो मात्राको बजेट खर्चै हुन सकेको छैन । साउन १ देखि नयाँ आर्थिक वर्ष शुरू हुने भएकाले सरकारले चालू बजेट असारभित्रै खर्च गर्नुपर्ने हुन्छ, असारअघि बजेट सही रूपमा कार्यान्वयन हुन नसक्दा लक्ष्य भेट्ने नाममा आर्थिक वर्षको अन्तिम महीनामा सरकारले बजेटको खोलो बगाउँदै छ । आर्थिक वर्षको अन्त्यमा हतारहतारमा बजेट सक्ने परिपाटीले विकासको गुणस्तरसँगै बजेट खर्चको विश्वसनीयतामाथि नै प्रश्न उठ्ने गरेको छ ।

असारलाग्दा अहिलेसम्म कुल बजेटको करीब ६३ प्रतिशत मात्रै बजेट खर्च भएको छ । हालसम्म भएको खर्चमध्ये चालू खर्चतर्फको अंश एकदमै बढी छ भने विकासतर्पmको (पूँजीगत) खर्च कमजोर देखिएको छ । अहिलेसम्म सरकारले चालूतर्फ ७३ दशमलव ९५ प्रतिशत खर्च गरेको छ तर पूँजीगतर्पm ४० दशमलव ६५ प्रतिशत बजेट मात्रै खर्च गरेको सरकारी आयव्ययको हिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाउँछ ।

चालू आर्थिक वर्षमा सरकारले बजेट संशोधन गरी कुल विनियोजनको ८५ दशमलव ९ प्रतिशत खर्च गर्ने लक्ष्य राखेको छ र उक्त लक्ष्य पूरा हुने अर्थमन्त्री विष्णु पौडेलले दाबी गर्दै आएका छन् । लक्ष्य भेट्ने नाममा ठूलो बजेट असारमै सक्ने दाउमा सरकार रहेको देखिन्छ । आर्थिक अभियान दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here