काठमाडौ महानगरका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार

94

काठमाडौं । काठमाडौ महानगरपालिकाका जनप्रतिनिधिले नगर परिषद् बहिष्कार गरेका छन्।महानगरपालिकाको नीति तथा कार्यक्रम कार्यपालिका बोर्डबाट पारित नगरी नगर परिषद्‍मा लैजान खोजिएको भन्दै कांग्रेसबाट निर्वाचित उपमेयरसहित १४ जना जनप्रतिनिधिले परिषद् बहिष्कार गरेका हुन्।

बोर्ड बैठक नै नबसी नगर परिषद् जान लागेपछि बाध्य भएर बहिष्कार गर्नुपरेको काठमाडौं महानगरपालिकाकी उप्रमुख हरिप्रभा खड्गीले बताइन्। देशमा महामारी चलिरहेका बेला विकासमा भन्दा जनतालाई बचाउनेतर्फ ध्यान दिनुपर्ने उनको भनाइ छ।

नगर परिषद बहिष्कार गर्नेमा कांग्रेसबाट निर्वाचित १४ जना वडाअध्यक्षसमेत छन्। नगर परिषदमा एमालेको बहुमत भएका कारण एकलौटी ढंगले नीति तथा कार्यक्रम ल्याउन खोजिएको कांग्रेसको आरोप छ।

कार्यपालिकाबाट पारित भएको कार्यक्रम मात्रै नगर परिषदमा पेस गर्ने कानुनी व्यवस्था उल्लघंन भएको तथा महानगरबासीलाई सञ्चित कोषबाटै कोरोनाविरुद्ध खोप खरिद गरेर उपलब्ध गराउनुपर्ने, वीर अस्पतालको कोभिड विशेष अस्पताललाई महानगरकै अगुवाइमा क्रियाशील बनाउनुपर्ने, करको दायरा बढाएर कर कम गरी जनतालाई राहत दिनुपर्नेलगायत माग राखिएको खड्गीले बताइन्।

काठमाडौं महानगरपालिकाको नगर परिषद् आज ११ बजे राष्ट्रिय सभा गृहमा बोलाइएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here