राउटेका लागि एकीकृत नीति बनाउँदै कर्णाली प्रदेश सरकार

102

वीरेन्द्रनगर । फिरन्ते जीवन बिताउँदै आएका कर्णालीका राउटे समुदायका लागि प्रदेश सरकारले एकीकृत नीति ल्याउने तयारी गरेको छ। लोपोन्मुख राउटे समुदायको संस्कृति र परम्परालाई जगेर्ना गर्दै उनीहरुको सामाजिकीकरणका लागि सामाजिक विकास मन्त्रालयले राउटे नीति बनाउने तयारी गरेको हो।

लोपोन्मुख राउटे समुदायको संरक्षण राज्यको दायित्व भएकाले  नीतिको तयारी गरेको सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीले बताए। एकै ठाउँमा नबस्ने, घुमन्ते समुदाय भएकाले राउटेको संरक्षणका लागि छुट्टै नीति आवश्यक देखिएको उनको भनाइ छ।

मन्त्री बुढा क्षेत्रीले राउटे समुदायको संस्कार र संस्कृतिमाथि बाह्य समुदायको हस्तक्षेप बढेको बताउँदै बस्ती प्रवेशमा निषेध, राहतको एकद्वार प्रणाली, सुरक्षाको प्रबन्ध तथा छाना, नाना र खानाको व्यवस्थापनलगायतका विषयहरु नीतिभित्र समेटिने बताए।

लोपोन्मुख समुदाय कर्णालीको पहिचान भएकाले उनीहरुको संरक्षण आवश्यक रहेको मन्त्रालयका सचिव कृष्णप्रसाद काप्रीले बताए। रासस

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here