काठमाडौं । मुलुकको आन्तरिक हवाई उडान यही असार १७ गतेदेखि सञ्चालन हुने निर्णय भएसँगै आन्तरिक उडानका एयरलाइन्स जनस्वास्थ्यको मापदण्डको परिपालना गर्दै उडानको तयारीमा जुटेका छन् ।
आन्तरिक उडानका अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयर, यती एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलगायत एयरलाइन्सले सङ्क्रमणरहित उडानका लागि आवश्यक तयारी गरेका हुन् । उपर्युक्त एयरलाइन्सले यसअघिको कोभिड–१९ महामारीको पहिलो लहरपछिको उडानमा अपनाइएको स्वास्थ्य प्रोटोकललाई पूर्ण रुपमा पालना गर्दै उडान सञ्चालन गरिने जनाएका छन् ।
एयरलाइन्सले यात्रुको सुरक्षा र जनस्वास्थ्यको मापदण्डलाई प्रभावकारी रुपमा पालना गरी उडान सञ्चालन गर्नेगरी टिकट बुकिङ पनि शुरु गरिसकेका छन् । बुद्ध एयरले आइतबारदेखि औपचारिक रुपमा कार्यालय सञ्चालन गर्ने जनाएको छ । निषेधाज्ञाका कारण अनौपचारिक रुपमा सीमित सङ्ख्याका कर्मचारीमार्फत सेवा सञ्चालन गरिरहेका एयरलाइन्सले उडान खुल्ने भएपछि कार्यालय सञ्चालन तथा यात्रुको सहजताका लागि बुकिङ पनि शुरु गरिएको जनाएका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनस्वास्थ्यको मापदण्डको पूर्ण पालना हुने गरी अर्को आदेश जारी नभएसम्मका लागि असार १७ देखि कूल उडान सङ्ख्याको ५० प्रतिशत नबढ्ने गरी आन्तरिक उडान सञ्चालन गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) लाई निर्देशन दिएको थियो । उक्त निर्णयबमोजिम क्यानले एयरलाइन्सलाई उडान कोटा निर्धारण गरेका छन् ।

















