काठमाडौं । आज नयाँ वर्ष २०७९ को पहिलो दिन म्याग्दी र मुस्ताङका पर्यटकीय तथा धार्मिकस्थलमा आन्तरिक तथा बाह्य पर्यटक र भक्तजनको भीड लागेको छ।
नयाँ वर्ष मनाउनका लागि देशका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक म्याग्दीका घोडेपानी, पुनहिल, तातोपानी र मुस्ताङको मुक्तिनाथ, जोमसोम, कागबेनीलगायत क्षेत्रमा आएका छन्। मन्दिर र देवालयको दर्शन गर्न तथा कालीगण्डकीमा स्नान गर्न जानेको पनि घुइँचो छ।
पाहुनाका कारण म्याग्दीको सदरमुकाम बेनी बजारका होटल खचाखच भरिएका छन् भने सडकमा सार्वजनिक र निजी यातायातका साधन बिहानैदेखि बाक्लै गुडेका बेनीको प्रवेशनाका कालीपुलस्थित ट्राफिक प्रहरीले जनाएको छ।
बुधबार रातिसम्म बेनीमा भित्रिएका दुई हजार बढी आन्तरिक र बाह्य पर्यटक आज बिहानै मुस्ताङको मुक्तिनाथ र म्याग्दीका पर्यटकीयस्थल टोड्के, भुरुङ तातोपानी, रुप्से झरनालगायत क्षेत्रतर्फ लागेका छन्।
त्यसैगरी नयाँ वर्षको पहिलो दिन म्याग्दीको पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको अवलोकन गर्न एक हजारभन्दा बढी पर्यटक बुधबार नै घोडेपानी पुगिसकेका घोडेपानीका होटल व्यवसायीले बताएका छन्।
स्थलमार्गबाट मुस्ताङ जाने पर्यटकका लागि बेनी प्रवेशद्वारसमेत भएको हुनाले मुस्ताङ जाने पर्यटकको भीड बेनीमा देख्न सकिन्छ।
घोडेपानी टोल सुधार समितिका संयोजक विरेन गर्बुजाका अनुसार नयाँ वर्ष मनाउन देशका विभिन्न ठाउँबाट अघिल्लो दिनदेखि नै घोडेपानीमा आन्तरिक पर्यटकको बाक्लो उपस्थिति रहेको छ।


















