काठमाडौं । देशमा कोरोना भाइरस महामारीको दोस्रो लहर चलिरहेका बेला अक्सिजन ग्यास अभाव भएकाे सर्वत्र महसुस गरियाे । यही अक्सिजनकै अभावले कैयौको अकालमा मृत्यु पनि भयो ।
अक्सिजन अभावकाे समस्या विस्तारै समाधान भइ रहेकाे भएपनि आगामी दिनमा यस्तो संकट आउन नदिन अक्सिजन प्लान्ट निर्माण भइरहेका छन् । यही क्रममा नेपाली सेनाले पनि झण्डै २ करोड रूपैयाँ लागतमा अक्सिजन उत्पादन शुरू गर्ने प्लान्ट निर्माण कार्य थालनी गर्ने भएकाे छ ।
नेपाली सेनाको इन्जिनियरिङ तथा कल्याणकारी कार्य निर्माण कार्यकारिणी समितिले सेनाकाे छाउनी परिसरमा रहेकाे शैनिक अस्पतालमा १ करोड ८९ लाख ६५ हजार ६४६ रूपैयाँको लागतमा अक्सिजन प्लान्ट र सिलिन्डर स्टोर भवन निर्माण गर्ने तयारी गरेकाे छ । यसका लागि बोलपत्र आह्वान भइसकेकाे छ । बोलपत्र पेस गर्ने मिति यही असार १६ गतेसम्म ताेकिएकाे छ ।


















