काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक बिहीबार दिउँसो २ बजे बस्दैछ । काँग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी एवम् पूर्वपदाधिकारीहररूलाई पार्टी कार्यालय सानेपामा बैठक बोलाउनुभएको काँग्रेस नेता बालकृष्ण खाँडले जानकारी दिनुभएको छ ।
बैठकमा काँग्रेसको आसन्न चौधौं महाधिवेशन र पार्टीको आन्तरिक विषयमा छलफल केन्द्रित हुनेछ । काँग्रेसको तेह्रौ महाधिवेशनबाट सदस्यता लिएकाहरुको नवीकरण भइसकेको र नयाँ क्रियाशील सदस्यताको प्रक्रिया अगाडि बढेको छ । अहिले क्रियाशील सदस्यताका सम्बन्धमा रमेश लेखकको संयोजकत्वमा सात सदस्यीय छानबिन समितिले काम अगाडि बढाइरहेको छ ।
पछिल्लो समय फोरम लोकतान्त्रिक, राप्रपा लगायतबाट काँग्रेस प्रवेश गर्नुभएकाहरलाई पनि समायोजन गर्ने काम अगाडि बढिसकेको र यो पूर्ण हुने अवस्थामा पुगेको नेता खाँडले जनाउनुभयो ।
नेपाली काँग्रेसको काँधमा अहिले दुई मुख्य जिम्मेवारी छन् । यिनै विषयमा नै काँग्रेसका शीर्ष नेता एवम् समग्र पार्टीले छलफल गर्दै आएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र विघटनपछि पनि गर्दै आउनुभएको विभिन्न गतिविधिले संविधान र लोकतन्त्र रक्षाको जिम्मेवारी काँग्रेसको काँधमा आएको खाँडले बतानुभयो । यसका लागि विपक्षी गठबन्धनहरुसँग संयुक्त रुपमा काँग्रेसले संघर्ष गर्दै आएको छ ।
यस्तै आगामी भदौं १६ देखि १९ गतेसम्म सम्पन्न गर्नेगरि चौधौं महाधिवेशनको म्याद अन्तिम पटक थपिएको हो । यो अवधिमा काँग्रेसले महाधिवेशन सम्पन्न गर्नेपर्नेछ । यसका लागि काँग्रेसले देशैभरमा विभिन्न कार्यक्रम एवम् तयारीहरुलाई थप तीव्रता दिदै आएको छ ।


















