एजेन्सी । भारतमा कोरोनाभाइरसबाट थप ४६ हजारभन्दा बढी नयाँ सङ्क्रमितहरु थपिएका छन् । सरकारी अधिकारीहरुले शुक्रबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ४६ हजार ६१७ जना नयाँ सङ्क्रमित थपिएका हुन् ।
पछिल्लो समयमा दैनिक सङ्क्रमितहरुको सङ्ख्या ५० हजारभन्दा कम हुदै गएको पाइएको छ । दैनिक लाखौँ नयाँ सङ्क्रमित थपिने गरेको भारतमा केही हप्तादेखि सङ्क्रमितहरुको सङ्ख्यामा कमी आउन थालेको छ । संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले कुल सङ्क्रमित मध्ये ९७.०१ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ ।
भारतमा अहिलेपनि सङ्क्रमित अवस्थामै रहेकाहरुको सङ्ख्या पाँच लाख नौ हजार ९६३ रहेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन् । भारतमा अहिलेसम्म कुल सङ्क्रमितहरुको सङ्ख्या तीन करोड चार लाख ५८ हजार २५१ पुगको मन्त्रालयले जनाएको छ ।


















