चोभारमा निर्मणाधीन सुख्खा बन्दरगाह सञ्चालन हुने

159

काठमाडाैं । काठमाडौंको चोभारमा निर्मणाधीन सुख्खा बन्दरगाह सञ्चालन हुने भएकाे छ ।  नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलका अनुसार बन्दरगाहमा अब सफ्टवेयर इन्स्टलेशनको काम बाँकी छ। त्यस्तै सञ्चालनको मोडालिटी टुङ्गो लाग्न बाँकी रहेकाे छ ।

साे परियोजनाको संरचना र पूर्वाधार बनिसकेको बारेमा भन्छन्, ‘ सफ्टवेयर इन्स्टलेसन गर्ने हो भने छोटो समयमै सञ्चालन गर्न सकिन्छ।’ चोभारमा निर्माणाधीन बन्दरगाहमा भन्सार भवन, क्वारेन्टिन भवन, सेक्युरिटी भवनलगायत संरचना बनिसकेका छन्।

सामान जाँच गर्ने ठाउँ (एप्रजेल सेड) बनेको छ। दुई वटा ५४ मिटर लम्बाइ र २४ मिटर चौडाइका गोदाम बनेका छन्। अर्को एउटा गोदाम निर्माण सम्पन्न हुँदैछ। करिव २ सय २० रोपनी क्षेत्रफलमा बनिरहेको बन्दरगाहमा ५ सय ट्रक पार्किङ गर्न सकिन्छ। त्यस्तै परियोजनाअन्तर्गत ५ सयसम्म कन्टेनर राख्न मिल्ने गरी यार्ड बनाइएको छ। गजुरेलका अनुसार चार वटासम्म कन्टेनर खप्टिएर (स्याटगिङ) राख्न सकिने गरी कन्टेनर यार्ड बनाइएको छ।

विश्व बैंकको ऋण सहयोगमा बनिरहेको बन्दरगाहको लागत १ अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएको छ। बन्दरगाहको नजिकै नेपाल इन्टरमोडल यातायात विकास समितिको कार्यालय भवन र आवासीय भवनसमेत बनिरहेको छ। जसलाई २० करोड बजेट छुट्याइएको छ। हिमाल सिमेन्टको जग्गामा बनेको बन्दरगाहका लागि सबैभन्दा ठूलो चुनौती भने सञ्चालनमा छ। काठमाडौं-तराई फास्ट ट्रयाक पूरा नभएसम्म बन्दरगाह पूर्ण क्षमतामा चल्ने सम्भावना कम छ।

सरकारले नाकाहरूमा भएका बन्दरगाहको लोड घटाएर कन्टेनरमा दोहोरो सिल लगाएर काठमाडौं ल्याएर बन्दरगाहलाई विजनेश दिने तयारी गरिरहेको छ। तर त्यसले चोभारको बन्दरगाहलाई दिगो रूपमा सञ्चालनका लागि भने समस्या हुने देखिन्छ। कार्यकारी निर्देशक गजुरेल पनि बन्दरगाह सञ्चालनका लागि फास्ट ट्रयाकको निर्माण महत्वपूर्ण मान्छन्। ‘फास्ट ट्रयाक निर्माण सम्पन्न भए तीनदेखि चार घन्टामा वीरगन्जबाट काठमाडौं कन्टेनर आउन सक्छन्’, गजुरेल भन्छन्, ‘व्यवसायीलाई त्यसले धेरै सहयोग पुग्छ।’

काठमाडौं तराई फास्ट ट्रयाकको प्रस्थान बिन्दु खोकनाबाट चोभारस्थित बन्दरगाहमा जोड्ने गरी सडक निर्माण हुँदैछ। परियोजनाले बागमती नदीमा पुल बनाएर बन्दरगाह जोड्ने तयारी गरिरहेको छ। यद्यपी फास्ट ट्रयाकको निर्माण सम्पन्न हुन अझै ३ वर्षभन्दा धेरै समय लाग्ने देखिन्छ। तत्कालका लागि भने वीरगन्ज भन्सारबाट कन्टेनरहरूमा सिल लगाएर चोभार पठाउने विषयमा सरकारले व्यवसायीसँग छलफल गरिरहेको छ। ‘आयात गर्दा जाँचपास गर्न कहिलकाहीँ पालो कुर्नुपर्छ। त्यस्तोमा उनीहरूले पार्किङ चार्जसमेत तिर्छन्। चोभारको बन्दरगाहमा भन्सार जाँचपास हुँदा व्यवसायीलाई सहज र छिटो हुन्छ,’ गजुरेलले भने।

व्यवसायीहरू पृथ्वी राजमार्गको घुमाउरो बाटो पार गर्दै चोभारसम्म आउनेमा शंका छ। अझ कतिपय व्यवसायीले तराईका जिल्लामा गोदाम राख्ने गरेका छन्। यस्तोमा चोभार भन्सार सञ्चालनमा आए पनि दीगो हुनेमा शंका छ। गजुरेल चोभारको बन्दगाह निर्माण गर्दा भारतको रक्सौल हुँदै आउने रेल र चीनबाट आउने रेलको समेत मिलन बिन्दु हुने गरी निर्माण गरिएको बताउँछन्। त्यसैले अहिले निर्माण भएको बन्दरगाह भविष्यका लागि महत्वपूर्ण भएको उनको तर्क छ। बन्दरगाहमा दोस्रो चरणको निर्माणका लागि समेत ठाउँ छाडिएको छ। गजुरेलका अनुसार भविष्यमा थप गोदाम र सामान जाँच गर्ने ठाउँ बनाउन सकिन्छ।

बन्दरगाहमा सवारी साधन प्रवेशका लागि ठूला ३ वटा गेट बनाइएको छ। साथै बन्दरगाह क्षेत्र बाहिरको सडकसमेत सुधार गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here