जातिको नाम कसरी किन “खस” रहन गयो ?

126

–चन्द्रप्रकाश बानियाँ

करिब पाँचसय वर्षपूर्वसम्म खसहरुले हिन्दू धर्म ग्रहण गरिसकेका थिएनन् । जनै धारण गरेर खसहरु हिन्दू बने । विधिवत हिन्दू बनेका खसहरुलाई श्री ३ जङ्गबहादुर कुँवर राणाले सगोलमै क्षत्री बनाइदिए । खसहरुको धर्मान्तरण र क्षत्री वर्णमा रुपान्तरणको ऐतिहासिक वास्तविकता यही थियो । यस तथ्यबाट खस जातिको पारम्परिक र मौलिक धर्म हिन्दू थिएन भन्ने प्रमाणित हुनजान्छ । समय सन्दर्भले खसहरुलाई हिन्दू हुन अभिप्रेरित ग¥यो । वाध्यता सिर्जना ग¥यो । त्यसका अनेक कारणहरु हुन सक्छन् । मुख्य कारण भने उनीहरुको राज्य हिन्दूमा रुपान्तरण हुनु हो । उनीहरुको राजा अर्थात शासकवर्गको धर्मान्तरण हो । शासकको धर्म परिवर्तन हुँदा प्रजाहरुको पनि फेरियो । फेरिनुपर्ने भयो । वाध्यता सिर्जना गरियो ।

खस साम्राज्यका संस्थापक नागराज पश्चिम तिब्बतको ङारी प्रदेशबाट कर्णाली क्षेत्रमा झरेका थिए । उनको सिंजातिरको संक्रमण राज्यविस्तारको सन्दर्भमा भएको थियो । नागराजको धार्मिक आस्थाको बारेका कुनै भरपर्दो तथ्य प्रमाण फेला पर्दैन । तर उनका उत्तराधिकारीहरुले निकै पछिसम्म बुद्ध धर्म अवलम्बन गरको देखिन्छ । राजकुमार र युवराजहरुसमेत भिक्षु बनेर गुम्बामा बस्ने गरेको प्रमाण पाइन्छ । त्यसको अर्थ नागराज नै बुद्धधर्मबाट दिक्षित थिएकी भनेर अनुमान गर्नुपर्ने हुन्छ ।

नागराज ङारी प्रदेशमा स्थापित हुनुपूर्व कुन ठाउँका बासिन्दा थिए भन्ने कुराको इतिहास पनि अन्धकारमा छ । उनको जन्म तिब्बतमा भएको हो भन्ने कुराको दरो प्रमाण लाग्दैन । त्यसबाट उनको जन्म अन्यत्र कतै भएको थियो र राज्य स्थापनाको सन्दर्भमै उनी ङारी प्रदेश आइपुगेका हुन् भन्न सकिन्छ । उनको परम्परागत धर्म संस्कृति के थियो भनेर समेत भन्न सकिदैन । अर्थात उनले मान्ने धर्म के थियो भन्ने संकेत कतैबाट पाइन्न । तिब्बतमा राज्य स्थापना गरेपछि तिब्बतीहरुको प्रभावमा परेर उनले बुद्ध धर्म अवलम्बन गरेका हुनसक्छन् । उनीपछि दश बाह्र पुस्तासम्म सिंजा दरबारमा बुद्ध धर्मको प्रभाव रहेको देखिन्छ । इतिहास प्रमाणले झण्डै तीन शताब्दीसम्म खस साम्राज्यले बुद्ध धर्मलाई राजधर्म बनाएको थियो भन्ने प्रमाण लाग्दछ ।

यतिखेरसम्म आइपुग्दा खस जातिको पहिचान संकटमा परिसकेको छ भन्नु अत्युक्ति हुँदैन । खस समाजका परम्परागत रीतिस्थितिहरु मासिएका छन् । परम्परागत संस्कारहरु फेरिएका छन् । भाषा लुप्त हुने स्थितिमा पुगेको छ । संस्कृति लोपोन्मुख अवस्थामा छ । धर्म संस्कृतिको साझो अवशेषको रुपमा रहेको मष्टो परम्परा पनि विकृत बन्दै गएको छ । मष्टो भनेको मानिसका आङमा उत्रिएर बोल्ने (पतुर्ने) परम्परा हो भनेर चिनिन्छ । झाँक्री परम्परालाई मष्टाको रुपमा समाजले बुझ्न थालेको छ । देउ चढेका मानिसहरुले आफ्नो शरीरमा अनेकौं देवी देवतालाई बोलाउन सक्छन् भन्ने भ्रम दिने परम्परा छ । प्रसिद्ध समाजशास्त्री डोरबहादुर विष्टले आफ्नो किताब “सामन्तवाद र भाग्यवाद”मा काठमाडौंको समाजमा पशुपतिलाई मानिसको आङमा उतारेर बोल्न लगाउने चलन थियो भनेर लेखेका छन् । देवता उत्रेको भनेर काम्ने मानिसहरुले आफूलाई कहिले देवी, कहिले वायु, कहिले वाहन, कहिले वराह, कहिले झाँक्री भन्ने गर्छन् । मष्टलाई आङमा उतार्ने चलन पनि त्यसरी नै सुरु भएको हो ।

खस जातिका मौलिक संस्कृति, परम्परा र समाजिक संस्कारहरु मासिदै जानु स्वभाविक थियो ।  झण्डै ३÷४ सय वर्ष बुद्धधर्म र ५÷७ सय वर्ष हिन्दू धर्म अवलम्बन गरिसकेको छ । धर्मसंगै अनेक संस्कार परम्पराहरु जोडिएर आउँछन् । आगन्तुक परम्पराहरुले पुरानोलाई विस्थापित गरिदिन्छन् । बरु यति लामो समयसम्म मष्टो संस्कृति जीवित रहनु आश्चर्य मात्रै होइन सौभाग्यको कुरा पनि हो भन्नुपर्छ । जाति, भाषा र संस्कृतिका उपलब्ध अवशेष, प्रमाण र परम्पराहरु समातेर आफ्नो जातिको पहिचान पहल्यिाउने र समाजमा पुनस्थापित गर्ने कार्यको आवश्यकता समयले झन् भन्दा झन् बलबती सिद्ध गर्दै लगेको छ ।

धर्म स्वेच्छिक विषय हो । जुनसुकै धर्म अवलम्बन गर्न व्यक्ति स्वतन्त्र रहन्छ । त्यसो भन्दैमा  इतिहासमा खस जातिले कुन धर्म मान्थ्यो भन्ने कुरा खोज्नु आवश्यक छैन भन्न मिल्दैन । परम्परागत धर्म संस्कृतिको खोजी गर्नुको अर्थ सबै खसहरुलाई पुरानो धर्म संस्कृति मान्न वाध्य बनाउनु पनि होइन । मूल कुरा खस जातिको स्वतन्त्र अस्तित्व र पहिचान स्थापित गर्नु हो । संवैधानिक मान्यता दिलाउनु हो । खस कुन अर्थमा भिन्न जाति हो भनेर स्पष्ट पार्नका लागि पुरानो इतिहास खोतल्नु आवश्यक भएको हो । जातिगत वा समुदायका हिसाबले राज्यप्रदत्त अधिकार जातिलाई दिलाउनका लागि पनि हो । खस जातिको पहिचान स्थापित गर्न खस जातिले मान्दै आएका हिन्दू र बुद्ध धर्मपूर्व कुनै अर्को धर्म संस्कृति अभ्यासमा थियो थिएन भनेर खोज्नुपर्ने बनाएको हो । जातिको मौलिक र स्वतन्त्र पहिचान स्थापना गर्ने सन्दर्भमा मष्टो धर्मको खोजी गर्नुपर्ने भएको हो ।

खस अभियन्ताहरुको मष्टोको स्वतन्त्र अध्ययन अनुसन्धान गर्ने चेष्टा नेपाली समाजका दुई तपकाका मानिसहरुका लागि टाउको दुखाईको विषय बन्न थालेको छ । अलग जातिको रुपमा खसले मान्यता पाउँदा सगोलमा प्राप्त हुने राजकीय सुविधा वा कोटाको ठूलो हिस्सा चलाखीपूर्वक आफ्नो पोल्टामा पार्ने स्वार्थ जोडिएको ब्राह्मण समुदाय, खस जाति धर्मबाट अलग भएपछि हिन्दू धर्म अल्पमतमा पर्ने कुराले तर्सेको हिन्दूवादी समुदाय र पुरेत्याइ गरेर अतिरिक्त आम्दानी गर्दै आएको अर्को समुदाय श्रोत बन्द हुने डरबाट त्रसित हुनु स्वभाविक थियो । आफूलाई भविष्यमा पर्नसक्ने घाटा र नोक्सानीबाट तर्सनु र त्यस्तो सकभर नहोस् भनेर सजक रहने सन्दर्भमा आकाश पाताल जोडेर समाजलाई भ्रमति गराउनु स्वभाविक हो । यी तिनवटै तपकाहरु एकै समुदायका हुन्  । खस जातिको अलग पहिचान स्थापित हुँदा मर्कामा परिन्छ भनी ठान्ने अर्काे एउटा खस जातिभित्रैकै समूह पनि उत्तिकै उत्तेजित भएको देखिन्छ ।

खसहरुलाई खस भन्ने शब्दावली कति अप्रिय छ भन्ने कुराको सानो उदाहरणको लागि पश्चिमे ठकुरी समुदायलाई लिउँ । पश्चिमा ठकुरीहरुमध्येको एउटा थर छ “पाल” । पालहरु खस साम्राज्य कालमा ठूला ठूला राजकीय हैसियतमा रहेको देखिन्छ । राजतरङ्गिणीका यश पालदेखि डोटी राज्य टुक्रयाउने निरय पाल र प्रताप मल्लपछि सिंजाको राजगद्दीमा बस्ने पुण्य पालसम्म सबैलाई खसराजा मानिएको छ । अर्थात पालवंशका ती ऐतिहासिक पुरुषहरु खसवंशका थिए । तर उनकै वंशजहरुले आजकाल आफूलाई खसेत्तर जातिको भनेर दावा गर्छन् । खस भनाउँदा उनीहरुमा जात घटुवामा परिने डर छ । त्यसैले आफ्ना पुर्खा खस थिए भन्नुपर्दा हीनताबोध गर्छन् । पश्चिमा ठकुरीहरु मात्र होइन, आफूलाई झर्रा, सभ्रान्त र खान्दानी क्षत्री ठान्ने खसहरुले पनि आफ्नो जाति खस भनाउन रुचाउँदैनन् ।

खस भनेको ब्राह्मणबाट खसेको जाति हो भन्ने गलत बुझाईको कारणले सभ्रान्त क्षत्री र ठकुरीहरुलाई तर्साएको हो । वास्तवमा वैदिक समाजका पुराण कथाहरुले परशुरामको क्षत्री उन्मूलनको अभियानको कथा कथ्नुको कारण पनि कुन जात श्रेष्ठ भन्ने आपसी विवाद थियो । ब्राह्मण उच्च कुलीन हो, क्षत्रीहरु ब्राह्मणहरुले सत्ता सञ्चालनका लागि उत्पन्न गरेका हुन् भनेर समाजमा भ्रम छर्नका लागि प्रायो्जित लेखन गरिएको हो । एउटा बञ्चरोको बलमा कुनै एकजना मानिसले धर्तीलाई क्षत्रीसून्य बनायो भन्ने कथा विश्वसनीय मानिन सक्तैन । त्यस्तो चमत्कार दन्त्यकथामा मात्रै हुन्छ । नेपालको सन्दर्भमा ब्राह्मण समुदायले अर्को नश्ल वंशको रक्तमिश्रण आफ्नो वंशमा नपरोस् भनेर अन्य जातिका महिलातिरबाट जन्मेका आफ्नै सन्तानलाई तल्लो जातिमा खसाल्ने र उनीहरुलाई आफ्नो बाबु बाजेको थरसमेतबाट वञ्चित गरेर खत्री बनाइदिने अनि तिनै खत्रीहरुसँग खसहरुको विहेवारी चलाएर सबै खसहरु खत्री नै हुन् भन्ने मान्यता स्थापित गर्ने षडयन्त्र गरिएको हो ।

२÷४ सय वर्षसम्मको निरन्तरको त्यही मान्यता र अभ्यासले खसहरुलाई आफ्नो जाति अपवित्र, हीन र घृणायोग्य लाग्न थालेको हो । बिर्सनलायक ठहराइदिएको हो । इतिहास अुनसन्धान र नृतत्वशास्त्रीय अध्ययनबाट धर्तीका सबै मानव समुदायहरुको पुर्खा एउटै रहेको कुरा प्रमाणित भैसकेको छ । जातभात, उचनिच,  सानोठूलो, भन्ने मान्यता गलत र भ्रामक हो । खस भनाउन लाज मान्नुपर्ने विषय होइन । खस एउटा गौरवपूर्ण इतिहास भएको महाजाति हो । रक्त सम्बन्धका दृष्टिले आर्यसंगको खसको सम्बन्ध निकै नयाँ हो । त्यसभन्दा अगाडिनै खस जातिको हिमचिम र लसपस मगर र किराँतहरुसंग भैसकेको थियो । खस जाति त्यस्तो महासागर हो जसमा मगर, गुरुङ, थकाली, नेवार, राई, लिम्वु वा आर्यहरुका ससाना नदी भङ्गालाहरु मिसिएका छन् । तिनको अस्तित्व खस महासागरमा आएर विलीन हुन्छ । आर्यवंशबाट आएको सानो खत्री समुदायले खस महासागरलाई धमिल्याएको छ भनेर मान्न सकिन्न ।

खस एउटा अलगै जाति हो । आर्यको एउटा शाखा होइन । यस जातिको लामो गौरवमय इतिहास छ । अलग पहिचान छ । यस जातिले मध्य एशियाको ककेससदेखि हिन्दूकुश पर्वतमालाको कठारसम्मको लामो यात्रा तय गरेका छ । आफ्नो जातिको इतिहास बिर्सेर जातिको नाम नै परित्याग गर्नु नादानी मात्र होइन, मातृपितृवंशप्रतिको कृतघ्नता पनि हो । बरु जातिको नाम किन कसरी खस रहन गयो, त्यसको खास अर्थ के होला भन्ने इतिहासको जानकारी राख्नु र आफ्नो जाति, धर्म, संस्कृति र पम्पराहरुलाई पुनर्जीवन दिनु कर्तव्य हुन आउँछ । त्यसैले आउनुहोस् जातिको नाम किन कसरी खस रहन गयो भन्ने ऐतिहासिक कारणको सम्बन्धमा अलिकता छलफल चलाउँ ।

अहिलेसम्म पनि नेपालको पश्चिमोत्तर क्षेत्र  र हिमवत्खण्ड बाहिर अन्यत्र कतै खस शब्दको प्रयोग भएको इतिहास भेटिदैन । पुरानो इतिहासको सुस्पष्ट अभिलेखहरु पनि दुर्लभ छन् । परचक्रीले अरु नै सन्दर्भमा र अरु नै भाषामा लेखिदिएका इतिहासका टिपोटहरुमा आज प्रयोग हुनेगरेजस्तो स्पष्ट “खस” लेखिएको पनि भेटिदैन । विवादमुक्त त छैन तापनि संसारकै सबभन्दा जेठो लिखत भनेर दावी गरिने ऋगवेदमा खस शब्द परेको छैन । वेदहरुका “करस्कर” भेटिन्छ । वेदपछिका लिखतहरुमा खस र करस्कर दुबै परेका छन् । कालक्रममा खस मात्रै देखिन्छ । करस्कर लुप्त भएको छ । अलि पछिल्ला लिखतमा खस देखिनु तर करस्करको प्रयोग हुन छोड्नुले करस्कर र खस पर्याय रहेछन भनेर अनुमान गर्नुपर्ने हुन्छ ।

खसहरुको बसोबास गरेका ठाउँहरुका नाम काशगर, काश्कर र कसमीर रहेको देखिने हुनाले करस्कर नै कालानतरमा खसमा रुपान्तरित भएको हो भन्न सकिन्छ । मध्य एशियास्थित ककेसस पर्वतको नामबाट जातिको नाम करस्कर, ककस, कश वा खस हुन गएको हो । पश्चिम एशियाको बेबिलोनियामा खस शासकहरुले ५०० वर्षभन्दा बढी समयसम्म शासन गरेको इतिहास छ । बेबिलोनियामा खसहरुलाई कस भन्थ्यिो । त्यही क्षेत्रमा पर्ने क्यास्पियन (कश्यप)सागर पनि खस जातिको नामबाट रहेको नाम हो भन्न सकिन्छ । खसहरुको प्राचीन बसोबसा क्षेत्र हिन्दूकुश पर्वतीय भूभाग कुनार उपत्यका (काशगर) कास्कर, खसिस्तान, कसमिर, खसाली, काशत्वार, खसधर(सिमला) हुदै कुमाउ, गढवाल, नेपाल र भूटानसम्म विस्तार भएको छ ।

युरोप र मध्य एशियाको बिचमा रहेको ककेसस क्षेत्र खस जातिको विकाससँग सम्बन्धित छ । त्यही बसोबास क्षेत्रको नामबाट जातिको नाम खस रहन गएको हो । इतिहासमा यस क्षेत्रमा अर्मेनिया, अल्वानीया, कोल्चिन, आइवेरीया जस्ता राज्यहरु रहेको देखिन्छ । ती सबै पछि कुनै कालखण्डमा इरानी साम्राज्यमा गाभिएका थिए । प्राचीन ककेसियाबाट इरानको  पूर्वदक्षिणतर्फ ककेसियाईहरु बसाई सर्न थाले । त्यही आप्रवासनको सिलसिलामा पश्चिमी इरान र इराकको सीमामा खसहरु बसोबास गर्न पुगेको हुनाले त्यस ठाउँको नाम खशिस्थान रहन गयो । त्यतिबेला त्यस क्षेत्रमा जोराष्ट्रियन धर्म अभ्यासमा थियो । त्यस धर्मका देवता “अहुर मज्दा” भनिन्थे ।

कालन्तरमा त्यस ठाउँमा पहिले इसाई र पछि इस्लाम धर्मले कब्जा जमायो । प्राचीन ककेसस क्षेत्रमा सोभियत संघको पतनपछि जर्जिया, अजरवैजान र अर्मेनिया नामका स्वतन्त्र राज्यहरु स्थापना भएका छन् । इसापूर्व दोश्रो सहस्त्राब्दीमा पूर्व एशियामाइनरमा कस्साइट जातिको उपस्थिति रहेको प्रमाण प्राप्त भएको छ । विक्रमपूर्व ३००० देखि तेश्रो शताब्दीसम्म मध्य एशिया, पश्चिम एशिया र युरोपका केही भूभागहरुमा खस अर्थात कस्साइट जातिको प्रभाव रहेको इतिहास प्रमाण लाग्दछ । पश्चिम एशियाका प्राचीन इतिहासमा कस्साइट भनेर उल्लेख भएको जाति नै कालान्तरमा कश वा खस हुन गएको हो । खस नाम जन्मसँग होइन भूमिसंग सम्बन्धित छ । बाहुनबाट खसेर खस भनिएको होइन, ककेसस क्षेत्रबाट पश्चिम दक्षिण हुँदै पूर्वतिर विस्तारित हुदै जाँदा एउटा लडाकु जातिले करस्कर, कश, कस्साइट हुदै खस नाम पाएको हो ।  जनधारणा साप्ताहिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here