काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले गरिबीका रेखामुनि रहेका जनतालाई विद्युत् महसुलमा छुट दिने योजना ल्याउन निर्देशन दिनुभएको छ । विद्युत् प्राधिकरणका पदाधिकारीलाई आइतबार
उहाँले यस्तो निर्देशन दिनुभएको हो ।
प्राधिकरणले उहाँको स्वागतका लागि आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री भुसालले निम्न वर्गीय जनताका लागि ऊर्जामार्फत सहुलियत जरुरी रहेको बताउनुभयो । प्राधिकरणले उठाउनुपर्ने अर्बौं रुपियाँ महसुल उठाउन नसकेकोमा व्यवस्थापनप्रति असन्तुष्टि जनाउँदै उहाँले सबै महसुल उठाउन पनि निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “डेडिकेटेट ट्रङ्क लाइन जे जस्ता बाँकी छन् सबै महसुल उठाउनुपर्छ ।” प्राधिकरणको सञ्चालन खर्च र विद्युत्को प्रणालीगत चुहावट बढ्नु दुःखद रहेको भन्दै मन्त्री भुसालले चुुहावट नियन्त्रणका उपाय कार्यान्वयन गर्न पनि व्यवस्थापनलाई निर्देशन दिनुुभएको थियो । प्राधिकरणले महसुलबापत करिब १५ अर्ब ४३ करोड रुपियाँ उठाउन बाँकी छ ।
विद्युत् खपत विस्तारका लागि पनि योजना बनाउन प्राधिकरण व्यवस्थापनलाई उहाँले निर्देशन दिनुभयो । “आन्तरिक उत्पादन बढिरहेको छ । त्यसैले विद्युत् खपत हुने क्षेत्रको पहिचान हुन जरुरी भइसकेको छ”, उहाँले भन्नुभयो, “खपत बढाउनका लागि प्रसारण तथा वितरण प्रणालीको पूर्वाधारमा लगानी बढाउनुपर्छ ।” स्वदेशी विद्युत्को उच्चतम सदुपयोग र आयात प्रतिस्थापन गर्ने दिशामा लाग्न पनि उहाँले यस्तो सुझाव दिनुभएको थियो । मन्त्री भुसालले वर्तमान विद्युत् महसुल संरचना परिवर्तन गरेर सस्तो बनाउने विषयमा पनि गृहकार्य गर्न व्यवस्थापनलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले कोरोना महामारीका कारण चुहावट केही बढेको जानकारी गराउनुभयो । गत आवमा चुहावट १४.५ प्रतिशतमा सीमित राख्ने लक्ष्य राखिएकोमा बढेर १६.२ पुग्ने देखिएको बताउँदै उहाँले कोरोनाको प्रभाव परेर प्राधिकरणको नाफा पाँच अर्बमा सीमित भएको जानकारी गराउनुभएको थियो । “निषेध ाज्ञाका कारण नियमित मिटर रिडिङ हुन सकेन”, उहाँले भन्नुभयो, “यसको प्रत्यक्ष असर प्राधिकरणको नाफामा परेको छ ।” कोरोनाबाट प्रभावित क्षेत्रलाई विद्युत् महसुल तथा डिमान्ड शुल्कमा छुट दिँदा प्राधिकरणको तीन अर्ब रुपियाँ आम्दानी गुमेको शाक्यले जानकारी गराउनुभयो ।

















