दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको छ । कोभिडको जोखिम कायमै रहेको र विद्यालय खोल्ने अनुमति नभए पनि निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएका थिए ।
प्रशासनको समन्वयमा सोमबार बसेको बैठकले सबै विद्यालय बन्द गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए।
उक्त बैठकमा प्याब्सन, एनप्याब्सन, व्यास नगरपालिकाका शिक्षा प्रमुख लगायतको सहभागिता थियो । सहायक प्रमुख जिल्ला अधिकारी बरालले सिसिएमसीले निर्णय नगरेसम्म विद्यालय सञ्चालन गर्न नपाइने बताए । “विद्यालय सञ्चालनका लागि प्रशासनले अनुमति दिएको छैन, कोरोना जोखिम कायमै रहेको अवस्थामा विद्यालय बन्द गर्न निर्देशन दिएका छौँ”, बरालले भने।
व्यास नगरपालिका शिक्षा शाखाका प्रमुख नगेन्द्रप्रसाद रेग्मीले विद्यालय खोल्ने अनुमति नभए पनि कतिपय विद्यालयले आफूखुशी विद्यालय सञ्चालन गरेको बताए । “विद्यालय खोल्यौँ भनेर कतिपय विद्यालय सञ्चालकहरुले जानकारी गराउनुभएको छ तर हामीले खोल्ने अनुमति दिएका थिएनौँ”, उनले भने, “कोभिड जोखिम कायमै रहेकाले अहिले विद्यालय नखोल्नुस् भनेका थियौँ ।”


















