काठमाडौं । प्रतिनिधि सभा अन्तर्गतको विकास तथा प्रविधि समितिले काठमाडौं उपत्यकाका सहायकमार्गको निर्माण कार्य छिटो सम्पन्न गर्न सरकारलाई निर्देशन दिएको छ।
बैठकमा समितिले सहायकमार्ग निर्माणको काम समयमै सम्पन्न नहुँदा निर्माण खर्च बढेको र उपत्यकाको अन्य विकास निर्माणमासमेत असर परेको भन्दै सडकको हालको अवस्थाबारे पनि समितिलाई जानकारी गराउन मन्त्रालयलाई निर्देशन दिएका छन्।
त्यसैगरी सहायकमार्ग निर्माणको स्रोतको सुनिश्चितता गरेर मात्रै निर्माण कार्य अघि बढाउन पनि सरकारलाई समितिले निर्देश गरेको छ। समितिले बैठकमा उपत्यकाको बाहिरी चक्रपथ निर्माणबारे पनि चासो देखाएको छ।
समितिले बाहिरी चक्रपथ उपत्यकाको सवारी चाप व्यवस्थापन र बस्ती विस्तारमासमेत महत्त्वपूर्ण भएकाले आयोजना अगाडि बढाउन बजेट सुनिश्चित गरी निर्माण प्रक्रिया अघि बढाउन सरकारी विकास मन्त्रालयलाई निर्देशन दिएको छ।


















