काठमाडौं । राष्ट्रिय सभा सदस्य (सांसद) खिमलाल देवकोटाले हरेक निकायका क्रियाकलापलाई पारदर्शी बनाउन माग गरेका छन्। मन्त्री र सचिवहरुले गुप्त कोठाभित्र गर्ने काम कारबाहीलाई पनि सीसी क्यामेराबाट कोठाबाहिर देखाउनुपर्ने सांसद देबकोटाको माग छ।
‘एउटा काम यो सरकारले गरोस्। हाम्रै अध्यक्ष, संसद सचिवालयले पनि लागू गरे हुन्छ। हरेक मन्त्रालयको मन्त्री र सचिवले भित्र गुप्त कोठामा बसेर गरेका काम कारबाहीको बारेमा कोठा बाहिर पनि देखिने गरी सीसी क्यामेरा राखियोस्,’ उनले भने ‘गुप्त कोठामा बसेर गरेको शासनले अपेक्षित उपलब्धि भएन ।’
गुप्त कोठाबाट गरिने कामकारबाहीले शासकहरु अपारदर्शी भएको पनि देवकोटाले टिप्पणी गरे। ‘ शासकहरु पारदर्शी भएनन्। गुप्त कोठाको अनुहार जनताले देख्न पाउनुपर्छ। पारदर्शी मात्रै भएको भए राष्ट्रपति कार्यालयले रातारात कागजहरु मिलाएर राति २ बजे संसद् बिघटन गर्ने हिम्मत गर्ने थिएन,’ देवकोटाले भने।
शासन व्यवस्था परिर्वतन पनि जनताले सेवा नपाइरहेको विषयमा समीक्षा गर्नुपर्ने सांसद देबकोटाको भनाइ छ। सांसद देबकोटाले सीसी क्यामेराले धेरै कुरा रोक्ने दाबी गरे । यो विधि संघदेखि हरेक तहका कार्यालयमा लागू गरिनुपर्ने देवकोटाको भाग छ।

















