उनलाई आइतबार उद्धार गरिएको हो। आन्द्रा दोब्रिएर पेट फुलेका कारण शिशुलाई साउन १५ गते उपचारका लागि भारत पश्चिम बङ्गालको सिलिगुडीस्थित पारामाउन्ट अस्पतालमा लगिएको थियो।
शिशुको अवस्था बुझ्न गएका पत्रकार मोहन काजीले उपचारमा लागेको खर्च १५ दिनभित्र तिर्ने कागजमा सही गरेपछि अस्पतालले सुहानकी आमा शर्मिला चौधरीलाई शिशु फिर्ता दिएको थियो।
अक्सिजन सपोर्टसहित एम्बुलेन्समा नेपाल ल्याइएको शिशुलाई आइतबार राति नै थप उपचारका लागि बिर्तामोडको बिएन्डसी अस्पतालमा भर्ना गरिएको छ।
अस्पतालले उपचारमा रु चार लाख ६८ हजार र औषधितर्फ रु एक लाख ३२ हजार ८०० बिल देखाएको छ। शिशुकी आमा शर्मिलाले पारामाउन्ट अस्पतालमा अहिलेसम्म रु दुई लाख ८८ हजार बुझाइसकेको बताइन्।
अब सो अस्पताललाई रु तीन लाख १२ हजार बुझाउन बाँकी छ। ‘चौधरी परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा छुट गरेर बच्चा फिर्ता दिन धेरै आग्रह गर्यौं। तर अस्पतालले मानेन,’ शिशु फिर्ता गराउन रकम तिर्ने कागजमा सही गरेका पत्रकार काजीले भने, ‘अरु केही उपाय नलागेपछि १५ दिनभित्र रकम बुझाउने कबुलियतनामामा सही गरेर शिशुको उद्धार गरेका छौँ।’
उपचारको रकम असुल्न आमाबुबालाई घर पठाएर चार महिनाको शिशुलाई बन्धक बनाएर दैनिक बिल बढाउने अमानवीय कार्य सो अस्पतालले गरेको पत्रकार काजीले बताए।
अस्पतालका वरिष्ठ व्यवस्थापक पिन्टु रुस्तागीले तोकिएको समयमै बक्यौता नबुझाएमा घरसम्मै रकम असुल्न आउने चेतावनी दिँदै नागरिकता प्रमाणपत्रको प्रतिलिपिसमेत राखेको उनले बताए।
अस्पतालले बच्चा फिर्ता दिँदा अक्सिजन सपोर्टमै राखिएको थियो। शल्यक्रिया गरेपछि पेट तथा पिसाब नलीमा लगाइएको पाइप नखुस्काइएका कारण बच्चाको अवस्था अझै पनि गम्भीर छ।
गरिबीले नेपालमा भइरहेको उपचारको खर्चसमेत बेहोर्न सक्ने चौधरी परिवारसँग आर्थिक क्षमता छैन। शर्मिलाले उपचारमा आर्थिक सहयोग गरेर आफ्नो शिशुको जीवनरक्षा गरिदिन दातासँग अपिल गरेकी छन्।
भारत जानुअघि नेपालका विभिन्न अस्पतालमा शिशुको उपचार गराउँदा रु ५० हजार खर्च भएको उनले बताए। अस्पतालमा अहिलेसम्म परिवारले बुझाएको रु दुई लाख ८८ हजारमध्ये रु ५४ हजार चन्दा सङ्कलनबाट जुटेको र बाँकी रकम परिवारले ऋण काढेर ल्याएको हो।


















