काठमाडाैं उपत्यका कोरोना महामारीको ‘रेडजाेन’ मा

130

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौं उपत्यका कोरोना महामारीको ‘रेडजाेन’मै रहेको जनाएका छन्।

रेडजोनमै पुगिसकेका छौँ भन्ने स्वास्थ्य विज्ञहरुको रिपोर्ट आइराखेको बताउँदै प्रमुख जिल्ला अधिकारी पराजुलीले जारी आदेश जुनसुकै बखत पनि पुनरवलोकन हुनसक्ने जनाए ।

‘हामी दिन प्रतिदिन डाक्टरहरुसँग, स्वास्थ्य मन्त्रालयसँग समन्वयमा छौँ। हाम्रो मुख्य उद्देश्य भयावह नहोस् भन्ने नै हो। अक्सिजन अहिले हाम्रो ब्यालेन्समा छ। अक्सिजन नपुगेर कोही व्यक्तिहरुको पिक टाइममा मृत्यु भयो तर, त्यसमा अहिले सुधार आएको छ। बेडमा अलिकति चाप भएकोले बेड थप गरेको हो’, पराजुलीले भने।

यसअघि काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले भदौ ८ गतेसम्मका लागि उपत्यकाको निषेधाज्ञा बढाउने निर्णय गरेको थियो। बिहीबारदेखि लागू हुनेगरी राति ८ बजेपछि अत्यावश्यकबाहेकका सवारी साधन चलाउन नदिने निर्णय गरेको थियो।

‘बीचको २ महिनादेखि हामीले केही क्षेत्रहरु खुलाएको अवस्था छ। तर, पछिल्लो चरणमा हिजो/अस्तिको डाटा हेर्ने हो भने कोरोनाको संक्रमण दर ह्वात्तै बढ्दै गइरहेको छ। संक्रमण दर बढेको छ, निको हुने दर घटेको छ। मृत्युदर पनि बढ्न थालेको अवस्था छ’, उनले भने, ‘संक्रमण दर पनि नबढोस् र दैनिक जीवनका कुराहरु पनि चालु हुन् भन्ने नै हाम्रो अहिलेको नीति हो। साेही अनुसार हामी यो बीचमा बसेर काम गरिरहेका छौँ।  अधिकांश साबिक बमोजिमकै निर्णयहरु छन्।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here