काठमाडौं । नेपाली कांग्रेसका क्रियाशील सदस्यताको सूची प्रकाशित गर्न माग गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका जिल्ला सभापतिहरुले धर्ना सुरु गरेका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्ना सुरु भएको छ। ‘क्रियाशील सदस्यता विवाद टुंगिएको भनिएपनि सार्वजनिक गरिएको छैन।’ नुवाकोट जिल्ला सभापति जगदिशश्वर नरसिंह केसीले भने,‘सूचिकृत सबै क्रियाशीलको नाम हामीले हेर्न पाउनुपर्छ। विधान र मापदण्ड विपरित आएका नाम भए हटाउनुपर्ने हुन्छ।’
त्रुटि कमजोरीमाथि पार्टीको विधिविधान र निर्धारित मापदण्ड बमोजिम सत्यतथ्य छानबिन गरेर मात्रै अन्तिम रुप दिनुपर्ने उनीहरुको माग छ।
क्रियाशील सदस्यता सार्वजनिक गर्न माग गर्दै धर्ना निरन्तर रहने केसीले बताए। पहिलो दिन काठमाडौंमा उपलब्ध जिल्ला सभापतिले धर्ना दिइरहेको उनले बताए। बुधबार देखि आलोपालो गर्दै ३÷४ जना जिल्ला सभापतिले धर्ना दिने उनले बताए।
आजको धर्नामा नेता अर्जुन नरसिंह केसीले जिल्ला सभापतिहरुको धर्नामा ऐक्यवद्धता जनाएका छन्।


















