काठमाडौं । स्रोत नखुलेको ८५ लाख ५६ हजार रुपैयाँ सहित ३ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं चण्डोल बस्ने बारा सिमरा उपमहानगरपालिका-२ घर भएका ३२ वर्षीय लक्ष्मण पौडेल, काठमाडौं महानगरपालिका-२४ फसिकेस्थित होलिडे ट्रेडिङ प्राईभेट लिमिटेडका संचालक रिन्कु भन्ने अभिशेक अग्रवाल र सोही लिमिटेडमा काम गर्ने काठमाडौं कपन बस्ने काभ्रे पाँचखाल नगरपालिका-१३ घर भएका ३६ वर्षीय मधुसूदन त्रिपाठी
रहेका छन् ।
महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले पौडेललाई काठमाडौं महानगरपालिका-२२ खिचापोखरीबाट नगद ३१ लाख रुपैयाँ सहित पक्राउ गरी थप अनुसन्धानको क्रममा उक्त नगद पौडेललाई अग्रवालले दिएको खुलेपश्चात अग्रवालको उक्त लिमिटेडमा तलासी गर्दा थप ५४ लाख ५६ हजार रुपैयाँ फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग पुलचोक पठाइएको उक्त वृत्तले जनाएको छ ।


















