काठमाडौं । संकटका बेला महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने परराष्ट्र मन्त्रालय दुई महिनादेखि नेतृत्वविहीन छ। मुलुक विश्वव्यापी कोरोना महामारीको चपेटामा परिरहेका बेला खोप तथा स्वास्थ्य सामग्री खरिदमा अग्रसरता लिनेदेखि छिमेकी तथा मित्र राष्ट्रहरूसँग समन्वय गर्ने हिसाबले परराष्ट्र मन्त्रालयको महत्वपूर्ण भूमिका हुन्छ।
अफगानिस्तान घटनाले क्षेत्रीय संकट गहिरिँदै जाँदा पूर्वराजदूतहरूको समूहले समेत सार्क संगठनको अध्यक्ष मुलुकका हिसाबले नेपालले सरोकारवाला देशसँग वार्ताका लागि पहल गर्न आग्रह गरेको छ। पूर्वराजदूतहरू हिरण्यलाल श्रेष्ठ, दीपकुमार उपाध्याय, दुर्गेशमान सिंह, सुरेश चालिसे र महेश मास्केले मंगलबार विज्ञप्ति जारी गर्दै नेपालले क्षेत्रीय स्थिरताका लागि भूमिका खेल्नुपर्ने बताएका छन्।
अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरूका लागि चासो र चिन्ताको विषय भएको र त्यहाँ विकसित परिस्थितिले यस क्षेत्रकै सामाजिक, आर्थिक, आप्रवासन र सुरक्षा मामलामा दूरगामी प्रभाव पार्ने उनीहरूको टिप्पणी छ। ‘सार्कको अध्यक्षका हिसाबले नेपालले अफगानिस्तान संकटका बारेमा सदस्य मुलुकहरूको दृष्टिकोण के हो भनेर छलफल गर्न सक्छ,’ पूर्वराजदूत उपाध्यायले भने। त्यसका लागि नेपालले पहल गर्नुपर्ने उनको धारणा छ।
उपाध्याय वर्तमान संकटका बेला सरोकारवाला मन्त्रालयलाई नेतृत्वविहीन बनाउन नहुने बताउँछन्। गठबन्धनको सरकार वा बाध्यता र आकस्मिकता भनेर महत्वपूर्ण मन्त्रालयलाई नेतृत्वविहीन राख्न नहुने उनको तर्क छ। परराष्ट्र मन्त्रालय लामो समयदेखि मन्त्रीविहीन हुँदा भारतबाट पैसा तिरिसकेको खोप ल्याउनेदेखि महाकालीमा भारतीय सीमा सुरक्षा बलले तुइन काटेर नेपाली बेपत्ता भएको विषय तथा हालको अफगानिस्तान संकटमा नेपालको निर्वाह गर्नुपर्ने भूमिकासम्ममा असर परेको उपाध्यायको भनाइ छ। नागरिक दैनिकबाट


















