महिला एसियन कप छनोटमा राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ तयारी

53

काठमाडौं । दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय फुटबल टोलीले असोजमा एएफसी महिला एसियन कप–२०२२ छनोट खेल्दै छ । दक्षिण एसिया बाहेक विरलै मात्र अन्तर्राष्ट्रिय खेल खेल्ने नेपाली टोलीले छनोट खेललाई अनुभव सँगाल्ने सुनौलो मौकाको रुपमा लिएको छ ।

बलिया प्रतिद्वन्द्वी भए पनि राम्रा नतिजाका लागि खेल्ने लक्ष्यका साथ टोलीले तयारी गरेको छ । उज्वेकिस्तानमा हुने एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टोलीले अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा तयारी गरिहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार घोषणा भएका २३ खेलाडीलाई समेट्दै तयारीलाई तीव्रता दिएका छन् ।

त्यसो त टोलीमा अनुभवी खेलाडी सावित्रा भण्डारी भने हुने छैनन् । घुँडाको शल्यक्रिया गर्न कतारमा रहेकी सावित्रा विना टोली राम्रो नतिजा निकाल्ने लक्ष्यका साथ मिहिनेत गरिहेका छन् ।

नेपाली टोलीलाई पहिलो पटक विदेशी प्रशिक्षकले प्रशिक्षण गराइरहेका छन् । सीमित खेलाडीबाट घोषणा भएको टोलीले छनोट खेलमा राम्रो नतिजा निकाल्नेमा प्रशिक्षक ग्यारी फिलिप्स विश्वस्त देखिन्छन् । नयाँ र अनुभवी खेलाडीको संयोजन भएको तथा दैनिक रुपमा खेलाडीहरुको प्रशिक्षणको क्रममा सुधार देखिएकाले छनोट खेल राम्रो हुने प्रशिक्षक फिलिप्सले बताए ।

दक्षिण एसियाली स्तरका प्रतियोगितामा खेल्दै आएको नेपाली महिला राष्ट्रिय टोलीले छनोट खेल हङकङ र फिलिपिन्ससँग खेल्न लागेको हो । जुन नेपाली टोलीका लागि अनुभव बटुल्ने ठूलो मौकाको रुपमा हेरिएको छ । नयाँ र अनुभवी खेलाडीको संयोजन रहेको टोलीमा सबैसँग जोश भएकाले राम्रो गर्ने कप्तान रेनुका नगरकोटीले बताइन् ।

मुख्य प्रशिक्षक फिलिप्सले घोषणा गरेको टोलीमा ६ नयाँ खेलाडीले राष्ट्रिय टोलीमा मौका पाएका छन् । नयाँ अनुहारमा मिडफिल्डर प्रीति राई, फरवार्ड रश्मी घिसिङ, सविता राना, रजनी थोकर, डिफेन्डर सृजना सिंह र निशा थोकर पहिलो पटक राष्ट्रिय टोलीमा समावेश भएका छन् ।

उमेर समूहका प्रतियोगितामा कप्तानी सम्हाली सकेकी प्रीति राईले पहिलो पटक राष्ट्रिय टोलीमा अटाउँदा मिहिनेतको फल प्राप्त भएको प्रतिक्रिया दिइन् । क्लब र राष्ट्रिय टोलीमा अटाउनु फरक भएको भन्दै प्रीतिले छनोट प्रतियोगितामा शत प्रतिशत खेल्ने बताइन् । पहिलो रोजाइमा पर्ने उनको विश्वास छ ।

खेलाडी सरु लिम्बूले विदेशी प्रशिक्षकले फिटनेससँगै बल पोसेसन राखेर खेल्न प्रेरणा दिएको बताइन् ।

छनोट प्रतियोगिता शुरुमा नेपालमा हुने तय भए पनि कोरोना महामारीका कारण तटस्थ स्थल उज्वेकिस्तानमा सारिएको हो । नेपाल रहेको समूहमा हङकङ र फिलिपिन्स रहेका छन् । उज्वेकिस्तानको जेएआर स्टेडियममा नेपालले पहिलो खेल फिलिपिन्ससँग असोज २ गते र दोस्रो खेल हङकङसँग असोज ५ गते खेल्नेछ ।

समूहको शीर्ष टोलीले अर्को वर्ष भारतमा हुने एसियन कपमा सहभागिता जनाउने मौका पाउनेछ । एसियन कप आगामी वर्ष जनवरी २० देखि फेब्रुअरी ६ सम्म हुँदैछ ।