एजेन्सी । अमेरिकी सेनाले आइतबार साँझ अफगानिस्तानको काबुलस्थित हमिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलनजिकै ड्रोन आक्रमण गरेको छ।
काबुल विमानस्थलमा आक्रमण गर्ने योजना बनाइरहेका आइएसआइएसकेका आक्रमणकारीलाई लक्षित गरी उक्त ड्रोन आक्रमण गरिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनका अधिकारीहरूले जनाएका छन्। आक्रमणमा आत्मघाती हमला गर्न लागेका एक जनाको मृत्यु भएको छ। बिस्फोटक पदार्थ कारमा राखिरहेका बेला ड्रोन आक्रमण गरिएको थियो। यसअघि आइएसआइएसकेले गत बिहीबार काबुल विमानस्थलमा गरेको आत्मघाती आक्रमणमा परी १३ अमेरिकी सैनिकसहित दर्जनौं अफगान नागरिकको मृत्यु भएको थियो।
अगस्ट ३१ मा अमेरिकाका सैनिक अफगानिस्तानबाट फर्किनुअघि फेरि पनि काबुल विमानस्थलमा आक्रमण हुने सक्ने सूचनाका आधारमा अमेरिकी ड्रोनले आइतबारको कारबाही गरेको जनाइएको।
आइतबारको ड्रोन आक्रमणमा केही सर्वसाधारण अफगान पनि मारिएको आशंका गरिएको छ।
अफगान अधिकारीहरूले उक्त आक्रमणमा कम्तीमा तीन जना बच्चाहरू मारिएको बताएका छन्। प्रत्यक्षदर्शीहरूले आक्रमणमा परी धेरै मानिसको मृत्यु भएको र कैयौं घाइते भएको बताएका छन्। अमेरिकी टेलिभिजन च्यानल सिएनएनले ६ बच्चासहित एकै परिवारका ९ जनाको मृत्यु भएको जनाएको छ। अमेरिकी सेनाले सर्वसाधारणको मृत्यु भएकोबारे अनुसन्धान भइरहेको जानकारी दिएको छ।
यसैबीच अमेरिकासहित झन्डै सय देशले आइतबार विज्ञप्ति जारी गर्दै अगस्ट ३१ पछि पनि विदेशी नागरिक र वैधानिक रूपले यात्रा गर्न पाउने अफगानलाई तालिबानले बाहिर जान दिने प्रतिवद्धता व्यक्त गरेको बताएका छन्।
अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले आफूहरूले तालिबानले गरेको यो प्रतिवद्धता उसलाई पूरा गर्न लगाउने बताएका छन्।


















