काठमाडाैं । भद्रपुरमा अढाई दशकअघि स्थापित महाकवि लक्ष्मीप्रसाद देवकोटाको अर्धकदको सालिक तोडफोड भएको छ।
आइतबार राति अज्ञात समूहले सालिक तोडफोड गरेको देवकोटा स्मारक संरक्षण समितिका सचिव राजु बरालले जनाए ।सालिकको शिर छेदन गरी भुइँमा लडाइएको अवस्थामा सोमबार भेटिएको उनले जनाए । भद्रपुर नगरपालिका–९ स्थित प्रकाशपुरमा २०५१ सालमा स्थानीय साहित्यप्रेमीहरूले सालिक स्थापना गरेका थिए। पूर्वपश्चिम राजमार्गको चारआलीबाट झापा सदरमुकाम चन्द्रगढी जोड्ने मेची सहायक राजमार्गको बीचमा सालिक रहेको थियो।
सालिक तोडफोड भएकामा साहित्यकारहरूले विरोध प्रकट गरेका छन्। साहित्यकार पुण्यप्रसाद खरेलले तोडफोड निन्दनीय कार्य भएको जनाउँदै राष्ट्रिय विभूतिको सालिकमाथिको आक्रमणमा संलग्नमाथि कडा कारबाहीको माग गरेका छन्। केही वर्षअघि पूर्वीद्वार काँकडभिट्टामा पनि यसरी नै देवकोटाको सालिक तोडफोड हुने गरेको स्मरण गराउँदै साहित्यकार खरेलले अपराधीको खोजी गरेर दण्डित गर्न माग गरेका छन्। RSS


















