सुगौली सन्धिपछि गोसाइँकुण्डमा अमरसिंहको जल समाधि

63

काठमाडौं । गोसाइँकुण्डमा अवस्थित ऐतिहासिक अमरसिंह ओढार ‘गो’ को अर्थ ‘पृथ्वी’ र ‘साँइ’ को अर्थ मालिक अर्थात् ‘गोसाइँकुण्ड’ को अर्थ ‘पृथ्वीको मालिक’ बुझाउँछ । चीनको स्वशासित प्रदेश तिब्बतसँग सीमाना जोडिएको रसुवा जिल्लामा अवस्थित गोसाइँकुण्ड समुद्री सतहबाट करिब चार हजार ३८० मिटरको उचाइमा छ ।

समुद्री सतहबाट करिब चार हजार पाँच सय मिटरको उचाइमा उत्तरपट्टिको नाकेडाँडी भीरमा एउटा ऐतिहासिक चट्टानभित्र केही फराकिलो अण्डाकार प्रकृतिको ओढार छ । गोसाइँकुण्डको सतहदेखि यो स्थान करिब १२० मिटर जति उचाइमा छ । जुन ओढारमा राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापा र उहाँकी कान्छी श्रीमती लालवती (सिंह) थापा (तत्कालीन बघाटका शक्तिशाली राजा महिन्द्रसिंहकी छोरी) ले बास बसेको तथ्यलाई यो लेखमार्फत पहिलो पटक केही विस्तृत रूपमा सार्वजनिक गर्न खोजिएको छ ।

यो चट्टानी ओढारलाई ‘अमरसिंह ओढार’ वा कतिपयले ‘अमर गुफा’ पनि भन्ने गरेको पाइन्छ । सोही स्मरणमा राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानका संस्थापक अध्यक्ष प्राडा बाबुरामसिंह थापाको संयोजकत्वमा करिब छ वर्ष अगाडि बडाकाजी अमरसिंह थापाको अर्धकदको पत्थर प्रतिमा निर्माण गर्न लगाइ गोसाइँकुण्डमा स्थापना गर्न पठाइएको थियो ।

स्थानीयका अनुसार यो प्रतिमा भन्दा अगाडि पनि त्यहाँ एउटा पुरानो जीर्ण अवस्थामा रहेको अमरसिंह थापाको आकृतिको पत्थर मूर्ति थियो । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह दम्पत्तिले यो चट्टानी ओढारमा बास बसेको १६औँ दिनमा कुण्डमा एकसाथ जल समाधि (जलयोग) लिएका थिए । तान्त्रिक विधि, नियम पूरा गरी सम्बत १८७३ साउन १६ गते बडाकाजी थापा दम्पत्ति जललीन भएको इतिहास छ ।

यो ऐतिहासिक एवं पुरातात्त्विक ओढार उत्तर दिशाबाट दक्षिण गोसाइँकुण्डतर्फ मोहोडा गरी बसेको छ । कतिपय स्थानीय ज्येष्ठ नागरिकको भनाइअनुसार अमरसिंह दम्पत्ति यो ओढारदेखि सीधा दक्षिण दिशातर्फ ओर्लेर गोसाइँकुण्डको किनारै किनार हिँडेर पारिपट्टिको किनारमा पुगेका थिए । सो किनारबाट उत्तरपट्टिको ओढारतर्फ फर्की कुण्डमा स्नान गर्दै एकसाथ अमरसिंह दम्पत्ति लीन (दिवंगत) भएको किम्बदन्ती रहिआएको छ । यस ठाउँमा अहिले पनि समय समयमा जल डमरुको आकृति देखिने गरेको स्थानीय बताउँछन् ।

सम्बत २०७८ भदौ ६ गते आइतबार जनैपूर्णिमाको दिन ‘एकीकरणका बडाकाजी भाग २’ पुस्तक गोसाइँकुण्डस्थित अमर सिंह ओढारमा विमोचन गरिएको थियो । यसै सिलसिलामा ओढारबाट तल कुण्डतिर झरेर सो कुण्डको पुर्वी–दक्षिण मोहडास्थित किनारको बाटोबाट उत्तरतर्फ फर्किएर कुण्डमा नियाँल्दा एक प्रकारको जलडमरु जस्तो आकृति अवलोकन गरियो । सो आकृतिलाई मित्रद्वय प्रविण गुरुङ र सुरज श्रनो मोबाइलको क्यामरामा छायाङ्कन गर्न भ्याएका छन् ।

तर सो आकृति लामो समयसम्म नरहने, कुनै कुनै बेला मात्र देखिने र देखिएको डमरुको जस्तो जल आकृति केही समयमै विलाउने गरेको देखिन्छ । कतिपय स्थानीयवासीका अनुसार सो क्षेत्र वरिपरि कुनै कुनै बेला डमरु बजेको आवाज पनि सुनिने गरेको बताउँछन् । यद्यपि, यी विषयहरू एउटा विश्वास प्रणालीका रूपमा स्थापित भएर रहेका छन् ।

सो क्षेत्रमा देखिएको जल डमरु आकृतिलाई विज्ञानसम्मत रूपमा अवलोकन गर्न सकिने भएकाले विश्वास प्रणाली र विज्ञान प्रणाली दुवै कोणबाट हेर्दा यो पुष्टियोग्य छ । भ्रमणकै क्रममा भेटिएका स्थानीय दिन्डुप तामाङले ‘‘हामीलाई अमरसिंह थापाप्रति प्रगाढ आस्था छ र उहाँको सम्झनामा यो ओढारको हेरचाह र सुरक्षा गर्दै आएका छौँ । यसभित्र स्थापना गरिएको अमरसिंह थापाको अर्धकदको प्रतिमालाई हामी नमन् गरी श्रद्धा गर्ने गर्छौं’’ भन्नुभयो ।

यसरी यो विषय हिमालय क्षेत्र र सिङ्गो देशको राष्ट्रिय प्रतिष्ठासँग जोडिएको हुँदा यसले स्थान विशेष गोसाइँकुण्ड क्षेत्रको धार्मिक, सांस्कृतिक र पर्यटकीय आकर्षणमा थप प्रवद्र्धन पुग्ने अपेक्षा राख्न सकिन्छ । यो सिङ्गो देशको पहिचान र समग्र देशवासीको साझा सम्पत्ति हो ।

यसै गुफारओढार परिसर अगाडि राष्ट्रिय विभूति अमरसिंह थापाको अष्टधातुको पूर्ण कदको प्रतिमा निर्माण गर्ने सोच बागमती प्रदेश सरकारको रहेकाले पनि प्रदेश सरकारले बहुवर्षीय योजनाको रूपमा कार्यान्वयनमा ल्याएको ‘गोसाइँकुण्ड एकीकृत विकास परियोजना’ ले यससम्बन्धी गृहकार्य गर्दैआएको पाइएको छ । ‘ गोरखापत्र दैनिकबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here