अवैध हुण्डी कारोबार बढ्दै, अर्थतन्त्रमा असर

68

काठमाडौं, भदौ २० गते । काठमाडौँ उपत्यकालगायत नेपालमा अवैध हुण्डी कारोबार बढ्दै गएको छ । नेपालको सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार बढ्दै गऐपछि राजस्वमा उठ्तीमा घाटा बढ्दै गएको प्रहरीको भनाई छ ।

हुण्डी कारोबार मात्र नभएर अवैध रकम र स्रोत नखुलेको मालवस्तु देशबाहिर पठाउने र भित्र्याउने कार्य जारी रहेको नेपाल प्रहरीकाे अपराध अनुसान्धन विभागका प्रमुख चन्द्रकुबेर खापुङ्गले बताउनुभयो । यो कारोबारलाई प्रहरीले निगरानीमा राखे पनि बढ्दै गएको देखिएको छ।

उहाँकाअनुसार जुन पैसाको स्रोत खुल्दैन त्यो हुण्डीभित्र पर्छ । उहाँले भन्नुभयो, “नेपालीहरुले पैसा पठाउने आधार भनेको विद्यार्थी पढ्न गएकालाई पठाउने हो, अरु सरकारसँग अनुमति लिएर उपचार गर्न निश्चित रकम लिएर जाने हुन्छ, विदेशबाट पनि गैरकानूनीरुपमा आर्जन गरेको छ भने नेपाल ल्याउने र पठाउने अबैध कारोबारी हुनसक्छ, हुण्डी लिगल बाटोबाट नभएर गैर कानूनी बाटोबाट गरिने कारोबार हो ।” यसले अबैध काम गर्न प्रोत्साहन गर्नेगरेको उहाँले बताउनुभयो । हुण्डी करोबारीलाई प्रहरीले पक्राउ गरेपछि राजस्व अनुसन्धान विभागलाई बुझाउँदै आएको छ ।

आर्थिक वर्ष २०७७–७८ मा ६२ लाख २९ हजार रुपियाँसहित प्रहरीले २२ जना हुण्डी कारोबारीलाई प्रक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ । अबैध हुण्डीको करोबारले देशको अर्थतन्त्र घाटामा जाने गरेको नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताउनुभयो । उहाँकाअनुसार कुनै पनि रकम एक ठाउँबाट अर्को ठाउँमा पठाउने फरक च्यानलहरु छ ।

बैंकिङ्ग च्यानल वा राष्ट्र बैंकबाट अनुमति प्राप्त संस्थाहरु सो मार्फत कारोबार गर्नुपर्ने हुन्छ । तर त्यसो नगरी कुनै मानिसलाई पैसा दिने सर्तमा रकम संकलन गर्ने र अर्को मानिसले भुक्तानी पाउने गरी गोप्य कोडको आधारमा पैसा पठाउँछ र अर्को ठाउँबाट भुक्तानी हुन्छ यसरी अबैध तरिकाले हुण्डीको कारोबार हुँदै आएको उहाँले बताउनुभयो ।

प्रवक्ता ढकालले भन्नुभयो, “राज्यको अर्थतन्त्रलाई हुण्डीले धेरै असर गरेको छ, यो अबैध तरिका हो ।” विदेशबाट आउने पैसा बैंकिङ्ग माध्यमबाट नआएर नेपालमा बस्ने कुनै मानिसलाई एउटा कोडको माध्यमबाट रकम दियो भने त्यो बैंकिङ्ग सिस्टममा गएन भने त्यो पैसा आयो कि आएन थाहा नहुने उहाँको भनाइ छ । उहाँले थप्नुभयो, “उताबाट जुन डलर नेपालमा आउँछ त्यो डलर उतै बस्यो र त्यसको कारण नेपाली रुपियाँ मात्रै भुक्तनी भएको देखिन्छ, हुण्डीले अबैध काम हुने र ठगी बढ्न सक्ने हुन्छ ।”

उहाँले भन्नुभयो, “उपत्यकालगायत नेपालका सीमा जोडिएका अधिकांश जिल्लामार्फत् हुण्डी कारोबार हुने गरेको छ ।” पछिल्लो समय हुण्डी कारोबार गर्ने कैयौ व्यक्ति पक्राउ परेका छन् । हुण्डी कारोबार व्यापारसँग सम्बन्धित रहेकाले व्यापारीक क्षेत्रमा हुण्डीको कारोबार बढी हुनेगरेको उहाँको भनाइ छ । प्रहरीले पक्राउ गरेका हुण्डी कारोबारीलाई राजश्व अनुसन्धान विभाग ललितपुर पठाउने गरेको प्रहरीको भनाइ छ । प्रहरीले पठाएका हुण्डी कारोबारीलाई विभागले सामान्य धरौटीमा छोड्ने गरेको प्रहरीको गुनासो छ ।

यता, राजस्व अनुसान्धन विभागका महानिर्देशक रामप्रसाद आचार्यकाअनुसार कारबाही प्रक्रियाको लागि कानूनअनुसार मुद्दा चलाउने हो । कानूनमा जे छ त्यहीअनुसार कारबाही गर्नेगरेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कानुनअनुसार मुद्दा लगाउँछौँ, राजस्व चुहावटसँग जोडियो भने त्यो अनुसार कारबाही गर्ने गर्छौं, अनुसान्धनबाट हुण्डीको कारोबार गरेको प्रमाणित भयो भने जिल्ला अदालतमा लगेर मुद्दा दार्ता गरी कारबाही प्रक्रिया अघि बढ्छ ।” नेपालको कानूनअनुसार नै कारबाही गरिरहेको उहाँले जानकारी दिनुभयो । गाेरखापत्रबाट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here