ललितपुर । ललितपुर महानगरपालिकाले यहाँ कार्यरत नगरप्रहरीलाई नेपाल अर्थात् नेपाल भाषामा प्रशिक्षण दिन थालेको छ । महानगरपालिकामा धेरैजसो नेवार समुदायको बसोबास रहँदा प्रहरीलाई काममा उक्त भाषाले सहजता तुल्याउने ठहर गरी दुई साताको प्रशिक्षण दिन थालिएको हो ।
नगरप्रहरीप्रमुख सीताराम हाछेथूले महानगरको नेवाः बस्तीमा नेपालभाषा प्रयोग गरेर काम गर्दा अपनत्वको व्यवहार पाएसँगै उक्त भाषा जान्न अति नै आवश्यक रहेको देखिएकाले सोमबारदेखि असोज ३ गतेसम्म प्रशिक्षण राखिएको बताए ।
महानगरपालिकामा कार्यरत १३ महिला र ३६ पुरुष गरी ४९ नगरप्रहरीलाई दैनिक बिहान एकदेखि डेढ घण्टाको तालिम जारी राखिएको हाछेथूले जानकारी दिए । नेवाः स्यानेगुठी प्रशिक्षण केन्द्रका निर्देशक एवं प्रशिक्षक रुबिन शाक्यले प्रहरीले काममा खटिँदा दोहोरो सञ्चार गर्न सक्ने आधारभूत भाषाको प्रशिक्षण दिइने जनाए । ‘हामीले नेपाल भाषामा सम्बोधन गर्नेदेखिका आवश्यक भाषा सिकाउनेछौं,’ उनले भने ।
महानगर प्रमुख चिरीबाबु महर्जनले महानगरका भित्री बस्तीमा बढीजसो नेवार समुदाय रहेकाले नगरप्रहरीले आफ्नो सेवा चुस्त–दुरुस्त बनाउन भाषाको प्रयोग गर्न पाउने जनाए। उनले भने, ‘यस क्षेत्रमा लगभग ६० प्रतिशत नेवार रहँदा प्रहरीले सबैसँग मिलेर काम गर्ने पाउनेछन् ।’

















