काठमाडाैं । बागमती प्रदेशसभामा ८ वटा दलहरूको सहभागिता भएको छ । आज आइतबार निर्वाचन आयोगबाट प्राप्त माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसद्हरुको नामावली सहितको पत्र बागमती प्रदेशसभा सचिवालयमा दर्ता भएसँगै प्रदेशसभामा आवद्ध दलको संख्या ८ पुगेको हो । यसअघि बागमती प्रदेशसभामा ७ वटा दलको प्रतिनिधित्व रहेको थियो ।
गत भदौ ९ गते नेपालको संविधान, राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३ को उपदफा (२) र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ बमोजिम नेकपा एमालेबाट विभाजित भएको नेकपा एकीकृत समाजवादी दल यस आयोगमा दर्ता भएको थियो ।
एमालेबाट बाग्मती प्रदेशसभा सदस्यहरुले राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश २०७८) को दफा ३३ को उपदफा २ (क) तथा राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ (दोश्रो संशोधन, २०७८) को नियम ५ र नियम ७ (क) बमोजिम नेकपा एकीकृत समाजवादी दलमा प्रवेश गर्नका लागि प्रदेश निर्वाचन कार्यालयमा सनाखत गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार नेकपा एकीकृत समाजवादीमा सनाखत गर्ने एमालेका सांसद्हरुको हकमा मात्र राजनीतिक दल सम्बन्धी ऐन, २०७३ (दोश्रो संशोधन अध्यादेश, २०७८) को दफा ३३(२क) बमोजिम दल त्याग गरेको मानिने छैन । सोही अनुसार आयोगको भदौ २५ गतेको बैठकको निर्णय बमोजिम प्रदेशसभा सदस्यहरूको नामावलीसहितको विवरण जानकारीका प्रदेशसभा सचिवालयमा पठाइएको हो ।




















