काठमाडाैं । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्ध अर्धशतक प्रहार गरेका मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेलले एकदिवसीय खेलमा नेपालका लागि बढी अर्धशतक बनाउने कीर्तिमान बनाउन सफल भएका छन् ।
सोमबार राति अमेरिकाविरूद्ध रोहितले नटआउट ६२ रन जोडेका थिए। उनले ८७ बलमा २ चौका र ३ छक्का हिर्काएका थिए। खेलमा नेपालले ५ विकेटको जित हात पारेको थियो।
अमेरिकाविरुद्ध रोहितले करिअरको तेस्रो अर्धशतक प्रहार गरेका हुन्। नेपालका लागि एकदिवसीय खेलमा बढी अर्धशतक प्रहार गर्ने खेलाडीको सूचीको दोस्रो स्थानमा कप्तान ज्ञानेन्द्र मल्ल छन्। उनले दुई अर्धशतक हिर्काएका छन्।
अमेरिकाविरुद्धको खेलमा रोहितले आफ्नो नाममा थप एक कीर्तिमान लेखाउन सफल भए। उनले नेपालका लागि पाँचौ विकेटको सर्वाधिक ठूलो साझेदारी गर्ने क्रममा विनोद भण्डारीसँग मिलेर ८३ रन जोडे।
रोहित र ज्ञानेन्द्रको नाममा एकदिवसीय खेलमा नेपालका लागि सर्वाधिक रनको साझेदारी गर्ने कीर्तिमान पनि छ। रोहित र ज्ञानेन्द्रले चार दिन अघि पपुवा न्युगिनीविरुद्ध तेस्रो विकेटका लागि ८९ रनको साझेदारी गरेका थिए।

















