तीर्थराज जोशी (डोटी)
हाल : काठमाडौं
ऊठौँ जागौँ युवाहरु हो !
पहाडजस्तै अटल विश्वास
सगरमाथाजस्तै उच्च सपना
तराईजस्तै विशाल छाती लिएर
धर्तीमा स्वर्ण आभा फिँजाउँदै
मेचीको झङ्कारमा कालीको उल्लास मिसाउँदै
कालीको जागरणमा मेचीको आल्हाद मिसाउँदै
ऊठौँ
प्रभाको लालीसँगै रङ्गीन सपना समातेर ऊठौँ ।
हाम्रा गाउँहरुमा चेतनाको विगुल बज्दै छ
सहरहरुमा रहरहरु थपिँदै छन् ।
सुशासनका आँकुराहरुमा
विश्वासको ऊर्जा थप्दै
समृद्धिका भ¥याङहरुमा
सफलताको धुन बजाउँदै
अघि सरौँ
हामी हाम्रो संविधानको फल फलाउन ।
हाम्र कानुनी दस्ताबेजहरु
ऐन नियमका ठेलीहरु
सुशासनको ढोकाबाट
समृद्धिको सोपान उक्लँदै
सपना फुलाइरहून्
शान्ति र विकासको ।
प्रत्येक बिहान
नारा, जुलुस र हठतालका लागि
चर्का आवाज र चक्काजामका लागि
जाग्न छोडौँ अब
अब सिर्जनाका लागि उठौँ
समृद्धिको सपना सजाउन
हाम्रा उर्बर मानसिकतामा
जागरणका फूल फुलाउँदै
विचारको वृक्ष रोपेर
चिन्तनका गराहरुमा
फल फलाऔँ
न्याय र चेतनाको ।
अराजकताका डङ्गुरहरु
शोषण र दमनका अवशेषहरु
अत्याचार र अमानवताको निर्लज्ज हाँसो
समूल नष्ट गर्दै
चेतनाको राँको बोकेर
उठौँ, जागौँ र जगाऔँ ।


















