हिमाल आरोहण गर्न २५ वटा टोलीलाई अनुमति

80

काठमाडौं । यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएका छन् ।

विभागका अनुसार मंगलबार (सेप्टेम्बर १४) सम्म अनुमति लिनेमध्ये ५२ जना महिला र १७८ जना पुरुष आरोही रहेका छन्। सबैभन्दा बढी मनास्लु हिमाल आरोहणका लागि १७ टोलीबाट १७१ जनाले आरोहण अनुमति लिएको विभागले जानकारी दिएको छ। आठ हजार १६३ मिटर उचाईको मनास्लु विश्वकै आठौं अग्लो हिमालमा पर्छ। मनास्लु आरोहणका लागि अनुमति लिनेमध्ये ३८ जना महिला रहेका छन्। यसैगरी, धवलागिरि हिमाल (८१६७ मिटर) आरोहणका लागि चार टोलीबाट ४० जनाले अनुमति लिएका छन्। जसमा महिलाको संख्या १२ रहेको छ।

मेरियाङ हिमाल (६५२८ मिटर) आरोहणका लागि आठ जना, कुम्भकर्ण हिमाल (७७१०) आरोहणका लागि पाँच जना, कञ्‍चनजंघा (८५८६ मिटर) आरोहणका लागि तीन जना तथा पुथा हिमचुली (७२४६ मिटर) आरोहणका लागि तीन जनाले अनुमति लिएका छन्।

दुई करोड ३० लाख रोयल्टी संकलन

शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जानकारी दिएको छ। विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनालाई अनुमति दिँदा उक्त रोयल्टी संकलन भएको हो।

मनास्लुका लागि आरोहण अनुमति जारी गर्दा सबैभन्दा बढी एक करोड ८० लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन भएको तथ्यांक छ। यस्तै, धवलागिरिबाट ४२ लाख १० हजार, कञ्‍चनजंघाबाट तीन लाख १४ हजार, मेरियाङबाट एक लाख ८८ हजार, कुम्भकर्णबाट एक लाख ७६ हजार र पुथा हिमाल आरोहणका लागि अनुमति जारी गर्दा ८८ हजार रुपैयाँ  रोयल्टी संकलन भएको विभागले जानकारी दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here