काठमाडौं । यो वर्षको शरद ऋतु (अटम सिजन)मा विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनाले अनुमति लिएका छन्। पर्यटन विभागले २५ वटा टोलीबाट आरोहण गर्न उनीहरुलाई अनुमति दिएका छन् ।
मेरियाङ हिमाल (६५२८ मिटर) आरोहणका लागि आठ जना, कुम्भकर्ण हिमाल (७७१०) आरोहणका लागि पाँच जना, कञ्चनजंघा (८५८६ मिटर) आरोहणका लागि तीन जना तथा पुथा हिमचुली (७२४६ मिटर) आरोहणका लागि तीन जनाले अनुमति लिएका छन्।
शरद ऋतुमा हिमाल आरोहणका लागि अनुमति जारी गरेबापत दुई करोड ३० लाख ७८ हजार ३५६ रुपैयाँ रोयल्टी संकलन भएको विभागले जानकारी दिएको छ। विभिन्न ६ वटा हिमाल आरोहणका लागि २३० जनालाई अनुमति दिँदा उक्त रोयल्टी संकलन भएको हो।
मनास्लुका लागि आरोहण अनुमति जारी गर्दा सबैभन्दा बढी एक करोड ८० लाख ९९ हजार रुपैयाँ रोयल्टी संकलन भएको तथ्यांक छ। यस्तै, धवलागिरिबाट ४२ लाख १० हजार, कञ्चनजंघाबाट तीन लाख १४ हजार, मेरियाङबाट एक लाख ८८ हजार, कुम्भकर्णबाट एक लाख ७६ हजार र पुथा हिमाल आरोहणका लागि अनुमति जारी गर्दा ८८ हजार रुपैयाँ रोयल्टी संकलन भएको विभागले जानकारी दिएको छ।


















