सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आयोगका अध्यक्ष निरौला र अध्यक्ष निरौलासमक्ष उपाध्यक्ष खड्काले बुधबार पद तथा गोपनीयताको शपथग्रहण गर्नुभएको हो । भूमिसम्बन्धी समस्या समाधान आयोग, २०७६ अनुसार नयाँ आयोग गठन भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । नेकपा (एमाले) चितवनका नेता देवी ज्ञवाली नेतृत्वको आयोग संविधानअनुसार गठन नभएको ठहर गर्दै सरकारले गत साउन १९ गते खारेज गर्ने निर्णय गरेको थियो ।
आयोगका नवनियुक्त अध्यक्ष निरौलाले वर्तमान संविधानले बसोबास तथा जमिनको अधिकारबाट कसैलाई वञ्चित नगर्ने विषयलाई मौलिक हकका रूपमा राखेकाले आफ्नो कामकारबाही त्यसतर्फ केन्द्रित रहने प्रतिक्रिया दिनुभयो । सरकारले आयोगको सदस्यहरू भने नियुक्त गरेको छैन । भूमिसम्बन्धी समस्या समाधान आयोग ७७ वटै जिल्लामा गठन गर्न पनि बाटो खुलेको छ ।

















