कोरोनाविरूद्ध पूर्ण खोप अर्ब चिनियाँले लगाए

78

एजेन्सी ।  चीनले झन्डै ७२ प्रतिशत जनसंख्यालाई कोरोनाभाइरसविरूद्धको पूर्ण खोप लगाइसकेको जनाएको छ। बिहीबार चीनको राष्ट्रिय स्वास्थ्य आयोगले सेप्टेम्बर १५ सम्म २ अर्ब १६ करोड डोज भ्याक्सिन लगाइसकेको जानकारी दिएको छ। चिनियाँ सञ्चारमाध्यमहरूका अनुसार अहिलेसम्म १ अर्ब ४० करोड चिनियाँमध्ये अहिलेसम्म १ अर्बले पूर्ण खोप लगाइसकेका छन्।

विश्वको सबैभन्दा ठूलो जनसंख्या भएको चीनले खोप अभियानलाई पनि तीव्रताका साथ अघि बढाइरहेको छ। चीनले आफूले उत्पादन गरेको खोपमात्रै आफ्ना नागरिकलाई दिएको छ। चीनले  खोप लगाएकामध्ये २० करोड मानिस ६० वर्ष माथिका छन्  भने ९ करोड ५० लाख जना १२ देखि १७ वर्षका बालबालिका छन्। चीनपछि संसारमै बढी नागरिकलाई खोप लगाउनेमा मुलुक भारत हो। भारतमा अहिलेसम्म ७५ करोड मानिसले खोप लगाएका छन्।

चीनले आक्रामक तरिकाले खोप अभियान चलाए पनि कोरोनाभाइरसको नियन्त्रण पूर्ण रूपमा गर्न सकेको छैन। बेला-बेलामा त्यहाँ कोरोनाका संक्रमित भेटिने गरेका छन्। पछिल्लो समय दक्षिण पूर्वी प्रान्त फुजियानमा संक्रमण देखिएको छ। पछिल्ला ६ दिनमा त्यहाँ २ सय बढी संक्रमित भेटिएका छन्। संक्रमण भेटिएका ठाउँमा चिनियाँ अधिकारीहरूले स्वास्थ्यका कडा मापदण्ड लागु गर्ने गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here