सरकारविरुद्ध लाग्नेहरुलाई विभूषणद्वारा सम्मान गरिएकोमा नेम्वाङले गरे टिप्पणी

99

काठमाडौं । संविधान सभा अध्यक्ष तथा नेकपा एमालेका नेता सुवास नेम्वाङले केपी शर्मा ओलीको सरकारविरुद्ध लाग्नेहरुलाई विभूषणद्वारा सम्मान गरिएको टिप्पणी गरेका छन्। संविधान दिवसका अवसरमा एमालेले गरेको कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनको टिप्पणी थियो, ‘कतिपय साथीहरुले राष्ट्रपति घोषणा भएको मेडल पाउनुहुने भएछ। हामी कतातिर अगाडि बढिरहेका छौं भन्ने यसले संकेत पो गरिरहेको छ कि?’  उनले एमाले फुटाउने, ओली सरकार विरुद्धको मुद्दाको फैसला गर्ने, मुद्दा लगाउने र त्यसका लागि सहयोग गर्नेहरु विभूषितको सूचीमा हुनु ‘चितुवा कराउनु र खसी हराउनु’ संयोग रहेको बताए।

उनले थपे, ‘केही साथीहरु दिल्लीमा हुनुहुन्थ्यो, त्यहीँबाट पार्टी फुटाउन सघाउनुभयो, उहाँले पाउनुभयो। दुईजना यतै थिए, उनीहरुका परिवारले पाएछन्। ओली सरकारका विरुद्ध मुद्दा लगाउनेले मेडल पाए, अरु ढंगले भूमिका निर्वाह गर्नुहुने कानुन व्यवसायीले पाउनुभएछ। संवैधानिक इजलासमा बसेका न्यायधीशरुले पदक पाउनुभएछ।’  संविधान दिवसकै दिन यस्तो सुन्नुपर्दा बेठीक भयो भन्ने लागेको उनले उल्लेख गरे। उनले उक्त विभूषण तथा मानपदवी फिर्ता गर्न समेत आग्रह गरे। उनको आग्रह थियो,  ‘न्यायाधीशका रुपमा आदर गर्छु, उहाँहरुलाई अग्रह गर्छु– यस्तो सन्देश जान दिनुहुँदैन। तुरुन्तै अस्वीकार गरेको घोषणा गरिदिनुहोस्।’

दुःख गरेर बनाइएको संविधान कार्यान्वयनको चरणमा रहेका बेला ‘भेदभाव’ देखिनु राम्रो नभएको उनको भनाइ छ। ‘जनतालाई बिना भेदभाव, सबै प्रकारका मूल्य मान्यतालाई आत्मसाथ गर्दै देश अगाडि बढ्छ भन्नेमा विश्वस्त तुल्याउनुपर्ने दिन पुरस्कारको घोषणा सुनें। साथीहरुले जानकारी गराउनुभयो। आश्चार्य लागेको छ।’  यसलाई उनले आफ्नो गाउँतिर सुनिने उखानसँग जोडे। भने, ‘पारी चितुवा करायो, वारी सिंगारी खसी हरायो। त्यहीँबाट यो उखान बनेको होला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here