प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी पलेशालाई सम्मान

80
काठमाडाैं । नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले टोकियो प्यारालिम्पिक गेम्समा उत्कृष्ट प्रदर्शन गरेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनलाई बिहीबार नगदसहित सम्मान गरेको छ ।
खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, महासचिव शिवसुन्दर गोथेलगायतले पलेशालाई नगद १० हजार रुपैयाँ र प्रशंसा पत्र प्रदान गरी सम्मान गरे । सोही अवसरमा टोलीका प्रशिक्षक कविराज नेगी लामा र व्यवस्थापक दीपक विष्टलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।
प्यारालिम्पिकमा नेपालबाट सहभागी एक मात्र खेलाडी पलेशाले रिपाचेजमा २ खेल जित्दै कांस्य पदकनजिक पुगेकी थिइन् । रिपाचेजको पहिलो खेलमा अमेरिका र दोस्रोमा सर्बियाकी खेलाडीलाई हराएकी पलेशा फाइनलमा चीनकी खेलाडीसँग चुकेकी थिइन् । त्यसअघि मुख्य ‘ड्र’ को पहिलो खेलमा पलेशा बेलायतकी खेलाडीसँग पराजित भएकी थिइन् ।

प्यारालिम्पिकको प्रदर्शनपछि पलेशा विश्व वरीयताको ५ औँ स्थानमा उक्लिएकी छन् । त्यसअघि पलेशा वरीयताको १३ औँ स्थानमा थिइन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here