दलाल पुँजीवाद मृत्युको मुखमा पुगेकाे महासचिव विप्लवकाे ठाकुवा

123

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले दलाल पुँजीवाद मृत्युको मुखमा पुगेको एक कार्यक्रमका बीच ठोकुवा गरेका छन् । सो पार्टीको केन्द्रीय समितिले चितवनमा आयोजना गरेको केन्द्रीय वैचारिक–राजनीतिक प्रशिक्षण कार्यक्रमलाई समापन गर्दै महासचिव विप्लवले क्रान्ति विजयोन्मुख रहेको र दलाल पुँजीवाद हार्दै गएको ठोकुवा गरेका हुन् ।

साेही अवसरमा महासचिव विप्लवले पार्टीको आगामी कार्यनीति, रणनीति, गर्नुपर्ने काम, केन्द्रीय समितिको निर्णय, वर्तमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिलगायत विषयमा व्याख्या गर्दै क्रान्तिलाई विजयमा पुर्याउन एक ढिक्का भएर जनतामा जानुपर्ने जनाएका थिए ।

महासचिव विप्लवले प्रचण्ड स्कुल ध्वस्त गरेर नयाँ स्कुल स्थापना गर्नुपर्ने जिकिर गर्दै क्रान्तिकारी पार्टीका कार्यकर्ताहरूले आफ्नो व्यक्तिगत स्वार्थलाई नभई पार्टीको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने जनाए । पार्टीका कार्यकर्ताहरू जहाँ र जुन जिम्मेवारीमा गए पनि क्रान्ति पूरा गरेरै छाड्ने पार्टी निर्माण गर्दै र कार्यनीतिक शृङ्खलाहरूको विकास गर्दै जानुपर्ने जनाए । जनतासँगको सम्बन्धलाई विकास गर्ने गरी कार्यनीति बनाउने पर्ने धारणा राखे ।

कम्युनिस्ट पार्टीको अस्तित्वका लागि असल विचार आवश्यक भएको प्रस्ट पार्दै महासचिव विप्लवले सही विचार निर्माण गरेर सही कम्युनिस्ट पार्टी निर्माण गरी क्रान्तिलाई विजयसम्म पुर्याउनुपर्नेमा जोड दिएका छन् । यसअघि नै जेठमा केन्द्रीय स्तरको प्रशिक्षण आयोजना गर्ने पार्टीको कार्यक्रम भए पनि कोरोना महामारीका कारण केही ढिलो गरेर यस्तो कार्यक्रम गरिएको भन्दै विप्वलले यहाँबाट फर्केपछि आमजनतामा पार्टीको क्रान्तिकारी विचार सम्प्रेषण गर्न पार्टीका नेता–कार्यकर्ताहरू सक्षम हुने विश्वास व्यक्त गरेका छन् ।

महासचिव विप्लवले क्रान्तिकारी कार्यकर्ताहरू पार्टीको स्वार्थलाई केन्द्रमा राखेर काम गर्नुपर्ने विषय प्रस्ट पार्दै भने – ‘जहाँ गए पनि क्रान्तिलाई नबिर्सने पार्टी निर्माण भएको खण्डमा मात्र क्रान्ति पूरा गर्न सकिन्छ । त्यसका लागि कार्यनीतिक शृङ्खलाहरूको विकास गर्नुपर्छ । जनतासँगको सम्बन्धलाई विकास गर्ने गरी कार्यनीति बनाउनुपर्छ ।’ उनले भने, ‘क्रान्ति पूरा गर्न हाम्रो कार्यदिशा वैज्ञानिक साबित भएको छ । हाम्रो कार्यदिशा लागू गरेर देखाउने इच्छा र प्रतिबद्धता छ । हामी जित्छौँ, जनताको विजय सुनिश्चित छ ।’

उक्त कार्यक्रममा सो पार्टीका सचिवालय सदस्यहरु प्रकाण्ड, कञ्चन, सुदर्शनका साथै सबै केन्द्रीय सदस्यको उपस्थिति रहेको थियो ।

गत सोमबार सुरु भई बिहीबार सम्पन्न भएको उक्त प्रशिक्षणमा देशभरिबाट तीन सयभन्दा बढी नेता–कार्यकर्ता सहभागी भएका थिए । प्रशिक्षण कार्यक्रमको व्यवस्थापन र खर्चविवरण नेकपाका चितवनका इन्चार्ज सन्देश पौडेलले प्रस्तुत गरेका थिए । प्रशिक्षण कार्यक्रममा देशभरिबाट एक सय १५ जना सेक्रेटरी र प्रतिनिधिले रिपोर्ट गरेका थिए । उनीहरूले पार्टीलाई कसरी अझै क्रान्तिकारी बनाउने, कसरी क्रान्ति सम्पन्न गर्ने र वैज्ञानिक समाजवाद स्थापना गर्ने भन्ने विषयमा सुझाव पेस गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here