–चन्द्रप्रकाश बानियाँ
बहादुरसिं विष्ट महासचिव रहेको एउटा “क्षत्री समाज राष्ट्रिय महासंघ” अस्तित्वमा रहेछ भन्ने कुरा त्यस महासंघको नामबाट २०७८÷०३÷०२ को मितिमा सार्वजनिक गरिएको एउटा वक्तव्यबाट जानकारी मिल्यो । क्षत्री महासंघको नाममा एउटा राष्ट्रियस्तरको संगठनको निर्माण बानियाँसमाजको पहलमा भएको थियो । विभिन्न थरगोत्रीहरुका संगठनहरुको छातासंगठन निर्माणको आवश्यकता महसूस गरेर बानियाँ समाजले एउटा वृहतभेलाको आयोजना ग¥यो । उक्त भेलाले क्षत्रीसमाज राष्ट्रिय महासंघको गठन ग¥या्े । संगठन दर्ता, विधान निर्माण र विधानबमोजिम नयाँ कार्यसमिति निर्माणको लागि बानियाँहरुकै नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । उक्त भेलाले तत्कालीन बानियाँबन्धु समाजका अध्यक्ष स्व. लालबहादुर बानियाँ र महासचिव ज्यो्ति बानियाँलाई क्षत्री महासंघको पनि अध्यक्ष र महासचिवमा चयन गरेको थियो । बानियाँद्वयको नेतृत्वले यथासमयमै आफ्नो जिम्मेवारी पूरा गरेर क्षत्री समाजको नेतृत्व हस्तान्तरण गरेको थियो । विष्टजी त्यही संगठनका महासचिव हुन् कि होइनन् भन्ने जानकारी त भएन । यदि हुन् भने बानियाँ समाजले एउटा महाभूल गरेछ भन्नुपर्ने हुन्छ । किनकि बहादुरसिं विष्टले जारी गरेको वक्तव्य आत्मघाती छ, जातिघाती छ, बन्धुघाती छ र समुदायको अहितमा छ ।
कुनै विषयमा पृथक विचार निर्माण गर्ने, मान्यता धारणा बनाउने र त्यसलाई सम्प्रेषण गर्ने अधिकार सबैलाई छ । त्यसैले कथित क्षत्री समाज महासंघ र त्यसको पदाधिकारी रहेका विष्टलाई आफ्नो विचार सार्वजनिक गर्ने वा संस्थाको तर्फबाट सार्वजनिक आह्वान गर्ने अधिकार छ । तर विष्टजीहरुलाई खस अभियानको विपक्षमा उभिन किन रहर लाग्यो अथवा कुन कारणले अभिप्रेरित ग¥यो भन्ने कुरा बुझ्न भने कठिन छ । विष्टजी क्षत्री महासंघसंग जोडिएको र नामसंँग बहादुर र सिं जस्ता पदावली जोडिएको हुनाले उनी खस हुनुपर्छ अथवा जङ्गबहादुर राणाले “क्षत्री”मा उकालिदिएको खसकै सन्तति हुनुपर्छ भनेर अनुमान गर्न सकिन्छ । व्यक्तिगत हिसाबले विष्टजीले हिन्दू धर्म र क्षत्री जातप्रति मोह राख्नु र त्यसको पक्षमा अभियान चलाउनु अस्वभाविक मानिदैन । तर क्षत्री महासंघ एउटा समुदायको संस्था हो, एउटा जाति समेटिएको संगठन हो । संगठनले समुदायको हितमा र संगठित सदस्य वा पदाधिकारीले उक्त संगठनको हितसाधनमा काम गर्नुपर्छ । पहाडी खसहरु संगठित भएको संस्था क्षत्री महासंघ हो भने खस जातिको अहितकारी गतिविधि गर्नु समुदायप्रतिको वेइमानी हो ।
संविधानले एकैठाउँमा राखेको खस र आर्यलाई अलग गर्नुपर्छ भनेर खसहरुका संगठनहरुले आवाज उठाउँदै आएका छन् । खस अभियानसंँग असहमत हुन सकिन्छ । स्वभावतः विष्टजीहरुलाई आफ्नो मान्यताको पक्षमा अभियान चलाउने अधिकार हुने नै भो । कसैको व्यक्तिगत मान्यतामाथि हस्तक्षेप गर्न मिल्दैन । प्रश्न कति मात्रै हो भने बहादुरसिं विष्टजीको महासंघ वैधानिक हो कि होइन, संस्था वैधानिक हो भने विष्टजी आधिकारिक व्यक्ति हुन् कि होइनन् ? वक्तव्य संस्थागत हो कि होइन ? यदि हो भने पनि ठिकै छ । व्यक्ति व्यक्तिको सहभागितामा संस्था बन्ने हो । विचार मिल्नेहरु जुटेर संस्था निर्माण गर्ने हो । उक्त संस्थामा आवद्ध खस÷गैरखस बन्धुहरु सबैको त्यो साझा धारणा हो भने पनि कसैको भन्नु केही रहँदैन । तर नक्कली संस्थाको नाममा नक्कली पदाधिकारीको अवाञ्छित र कुत्सित चेष्टा हो कि ? संस्था सक्कली भए पनि वक्तव्य नक्कली हो कि ? संस्थाको नाम र लेटरप्याडको दुरुपयोग भएको हो कि भनेर प्रश्न उठ्नु उठाउनु अस्वभाविक हुदैन ।
यदि संस्था पनि वास्तविक हो, विष्टजी पनि वहालवाला पदाधिकारी हुन्, वक्तव्य पनि संस्थाको आधिकारिक नै हो भने उक्त संस्थासँग खस अभियन्ताहरुले अविलम्ब छलफल चलाउनु आवश्यक छ । किनकि खस अभियानको विरोध दुई कोणबाट हुने गरेको छ । एउटा विषय जानेबुझेको तर स्वार्थवश समाजमा भ्रम सिर्जना गरेर आफ्नो दुनो सोझयाउने पक्ष र अर्को विषय नबुझ्ने लहै लहैमा आफ्नो कान छाम्न छोडेर कागको पछि दौडने प्रवृत्ति । पहिलो पक्षसंग वहस विवाद गर्नुको कुनै अर्थ छैन । दोश्रो पक्षसंँग भने छलफल गर्नु आवश्यक छ । विष्टजीहरु दोश्रो पक्षमा पर्नुपर्छ भनेर अनुमान गर्न सकिन्छ ।
विष्टजीहरुले बुझ्न बाँकी रहेको कुरा के हो भने खस र आर्य अलग जाति हुन् । उनीहरुको धर्म संस्कृति, रीतिरिवाज र जाति नश्ल फरक फरक थिए । समयक्रममा खसहरुले हिन्दू धर्म ग्रहण गरेका हुन् । धर्म स्वेच्छिक विषय हो । जोसुकैले जुनसुकै धर्म लिन छोड्न सक्छ । खसहरुले हिन्दू धर्म ग्रहण गर्नु र आफूलाई हिन्दू भनाउनु कुनै अपराध होइन । खसहरु मजाले हिन्दू हुन मिल्छ । आफूलाई हिन्दू भनाउन पाउँछन् । पाएकै छन् । मूलतः समस्या धर्मको होइन । जातिको हो । जाति र धर्म एउटै कुरा होइन । धर्म परिवर्तन गर्न सकिन्छ, जाति फेर्न सकिदैन । मिल्दैन । धर्म व्यक्तिगत आस्था विश्वाससँग जोडिएको विषय हो । जाति नस्ल वंशसंग जोडिएको विषय हो । नस्लवंशको सबभन्दा नजिकको कडी “बाबु आमा” हो । आस्था बदल्न सकिन्छ । तर बाबु आमा बदल्न सकिदैन ।
जातिगत मान्यताका आधारमा खसहरु खसै हुन् । आर्य हुन सक्दैनन् । त्यसैले नेपालको संविधानमा परेको “खस–आर्य” भन्ने जाति, त्यसको व्याख्या परिभाषा गलत छ । गलत मात्रै होइन, त्यसभित्र षडयन्त्र पनि छ । ठूलो संख्यामा रहेको तर आर्थिक सामाजिक दृष्टिले पिछडिएको खसजातिको संविधानप्रदत्त समानुपातिक समावेशी कोटामा अनाधिकार हक कायम गर्ने प्रपञ्च लुकेको छ । त्यस अर्थमा आसन्न जनगणनामा जातिको महलमा सबै खसहरुले “खस” लेखाउँ भनेर चेतनशील खसहरुले संगठित असंगठित रुपमा अभियान चलाइरहेका छन् । त्यही वस्तुसत्यको जानकारी नराख्ने बहादुरसिं विष्टहरु “क्षत्री” जातको पक्षमा उभिएका हुन् । कानूनबाहेक अन्य क्षेत्रमा नजानेर गरिएको काम अपराध मानिदैन । अज्ञानता सर्वथा क्षम्य मानिन्छ । विषय नबुझेर वक्तव्यवाजीमा उत्रने विष्टजीहरु क्षमा, दया र करुणाका पात्र हुन् । उनीहरुलाई प्रशिक्षित गर्नु खस अभियानको दायित्व हो ।
सबै कुरा बुझेर पनि खस अभियानको विरुद्धमा विषवमन गर्नेहरु खस नै होउन् वा गैरखस सबै अपराधी हुन् । स्वार्थी हुन् । सदाकाल धर्म र जातिको नाममा खसजातिलाई लुटिखाने दूरासयप्रेरित धूर्तहरु हुन् । तिनको भने डटेर विारेध र प्रतिवाद गर्नु आवश्यक छ । तिनै दुष्ट र धूर्तहरुका कारणले खसको मौलिक धर्म थियो कि भनेर खोजीनीति गर्नुपर्ने बनाएको हो । वास्तवमा धर्म भनेको के हो भनेर घोत्लिनु, चिन्तन गर्नुपर्ने बनाएको हो । हिन्दु धर्म ग्रहणगर्नुपूर्व खससमाजमा अर्को कुनै धर्म अस्तित्व र व्यवहारमा थियो कि भनरे इतिहास उधिन्नुपर्ने बनाएको हो । खसहरुलाई हिन्दू भनाउनमा खास आपत्ति थिएन । कैर्यौं खस अभियन्ताहरुले आजपर्यन्त आफूलाई हिन्दू मानेकै छन् । तर यहीनेर बुझ्नुपर्ने कुरा के देखिन आयो भने जसरी हिन्दू धर्मले शूद्रहरुलाई अछुत बनाएर समाजिक वहिष्कार गरेको मात्रै्र होइन सदियौंदेखि शोषण उत्पिडनमा पा¥यो त्यसैगरी धर्मको नाममा शोषणा र जातिको नाममा भेदलभाव खसजातिसंग पनि गरिएको छ । खसहरु पनि उत्तिकै शोषित पिडित छन् । जातिभेदको शिकार बनाइएका छन् । पछिल्लो संविधानमा राज्यद्वारा उपलब्ध हुने जातिगत र समुदायगत सेवा, सुविधा र अवसर पनि खोस्ने प्रपञ्च मिलाइएको छ । जनै भिराएर दोश्रो दर्जाको सामाजिक हैसियत दिइयो र जन्मदेखि मृत्यसम्म जनैवापत पुरेतमार्फत तिरो शेर्मा बुझाउने रैति बनाइएको थियो । पछिल्लोपटक त “सुत्केरीको निहँु पारी टाउको मैले……” भन्ने गीतजस्तै खस–आर्यको नाममा खसलाई राज्यप्रदत्त अवसरहरुबाट वञ्चित गराएर आफ्नो जाति, वर्ग र समुदायको हितसाधन गर्ने प्रपञ्च मिलाइयो ।
खसलाई पुरेतका करदाता रैति बनाउने त्यही “जनै” हो । उही जङ्गबहादुर राणाले भिराएको क्षत्री जात हो । खसलाई करीया बनाउने तिनै दुई कुरा हुन् । त्यसवापत खसजातिले पुरेतलाई “जतिया”कर तिर्दै आएका छन् । जन्मले कोही ठूलो सानो हुदैन तर खसलाई “दोश्रो” दर्जाको मानिस बनाउने त्यही जनै हो । त्यही जात हो । आफ्नो नैसर्गिक राज्यभाग पुरेत ब्राह्मण (आर्य) हरुका हजुरमा सुम्पनुपर्ने र उनीहरुले हसुरेको डकारेको टुलटुलु हेर्नुपर्ने, आवाज उठाउन नपाउने कारण पनि त्यही जनै हो,। त्यही जात हो । त्यो “जात” हिन्दू धर्मले भिडाएको हो । वैदिक वर्णव्यवस्थाले थोपरेको हो । खसलाई जन्मदै दोश्रो दर्जाको मान्छे बनाउने हिन्दू धर्म नै हो । आफूलाई, आफ्नो जातिलाई, सबै खसहरुलाई दोश्रो दर्जाको समाजिक हैसियत दिएर अपमानित गर्ने हिन्दू धर्म खसजातिका लागि त्याज्य छ । त्यसप्रति मोह राख्नुपर्ने कारण छैन ।
आफ्नो जाति पहिचानको खोजी गर्नु स्वभाविक भए पनि धर्मप्रति निर्मम हुनुपर्ने के कारण छ र भन्ने गरिन्छ । हिन्दू धर्मसंगको नाता सम्बन्ध तोड्नु आवश्यक भैसकेको छ । किनकि हिन्दू धर्मबाट मुक्त नहुँदासम्म खसजातिमाथि थोपरिएको जातबाट मुक्त हुन सकिदैन । पुर्खाले गरेको गल्ती सच्याउने बेला टरिसकेको छ । जनजाति र मधेसीहरुले पहिचानको आवाज उठाउन थाल्दादेखि नै खसहरुमा त्यस्तो चेतना पलाउनु पर्नेथ्यो । बोधो खससमाजले बेलामा कुरो बुझेन । आफू झर्रा क्षत्री भएको भ्रम क्षत्रीसमाजका नाममा खुलेका संगठनहरुले फैलाए । त्यसैको परिणामस्वरुप नयाँ संविधानमा अक्षम्य अपराध दर्ता हुन गयो । देशको लामो इतिहास भएको एउटा ठूलो जातिको अस्तित्व लोप गराउने पुरेतहरुको षडयन्त्रको शिकार खसहरुको नेतृत्व आफै सहयोगी हुन पुग्यो ।
खस र आर्य एउटै जाति होइन भनेर हजारौंपटक जप गर्नुपर्ने अवस्था आयो । आजको युगमा पनि खस जन्मैले दोश्रो दर्जाको नागरिक ठहरिने व्यवस्था छँदै छ । त्यो अन्यायले सहनुको हद पार गरिसक्यो । दोश्रो सामाजिक हैसियत खसजातिलाई स्वीकार्य छैन । कोही पहिलो, अर्को दोश्रो वा तेश्रो हुने नियम मान्य छैन । रीति स्वीकार्य छैन । धर्तीका मानव सबै समान हुन् । मानिस मानिसहरुबिच भेदभाव सामाजिक व्यवस्था हिन्दू धर्मले गरेको हो । त्यसैले आफूलाई जातघटुवामा पारेको हिन्दू धर्मसंग खसहरुले नाता तोड्नु जरुरी भैसक्यो ।
जबसम्म हिन्दू धर्म मानिन्छ तबसम्म क्षत्री नामको गलगाँडबाट मुक्ति मिल्दैन । हिन्दूधर्म नछोड्दासम्म आफूलाई दोश्रो दर्जाको मान्दिन भन्न मिल्दैन । त्यसैले हिन्दूधर्म खस जातिका लागि त्याज्य हुन गएको हो । खसहरु हिन्दू होइनन् भने के हुन् त भन्ने प्रश्न उठाउन थालेपछि विकल्पको खोजी हुनु स्वभाविक हो । मष्ट त्यही सन्दर्भमा अघि सारिएको विषय हो । जसरी राज्य धर्मबाट अलग रहन सक्छ, धर्मनिरपेक्ष रहन सक्छ त्यसैगरी मानिस पनि व्यक्तिगत वा समूहगत रुपमा धर्मनिरपेक्ष रहन सक्तछ । धर्मविना समाजको काम चल्छ । होइन, कसैलाई त्यस्तो लाग्दैन भने विकल्प हुन सक्छ । निर्विकल्प केही हुदैन । खसहरुसंग आफ्नो मौलिक विकल्प मष्ट छ । उसो त यो धर्तीमा आठ अरब मानिसहरु छन् । धर्मनिरपेक्ष रहने मानिसहरुको संख्याले २७ प्रतिशत नाघिसक्यो भनेर एउता सर्भेले भन्छ । खसजाति त्यो समूहमा किन सामेल हुन सक्तैन ?! त्यसो गर्न सकिदैन भने मौलिक विकल्प किन नरोज्ने ? -जनधारणा साप्ताहिकबाट


















