म्याग्दी / संसारको सातौँ अग्लो धवलागिरि हिमाल ९८,१६७ मिटर० मा पहिलोपटक नेपाली महिलाले सफल आरोहण गरेकी छन्। नेपाली महिला आरोही पूर्णिमा श्रेष्ठले धवलागिरि गाउँपालिका–४ मा पर्ने उक्त हिमालको सफल आरोहण गरेकी हुन्।
काठमाडौँको सेभेन समिट ट्रेकिङ कम्पनीमार्फत श्रेष्ठ यही असोज २ गते मुस्ताङको मार्फा हुँदै पैदलमार्ग भएर धवलागिरि हिमाल आरोहणमा गएकी थिइन्। सेभेन समिट टे«किङका सञ्चालक मिङ्मा शेर्पाले पूर्णिमासहित आफ्नो कम्पनीका २० जनाले शुक्रबार बिहान ५ः०० बजे धवलागिरिको सफल आरोहण गरेको जानकारी दिए।
‘धवलागिरि हिमालमा नेपाली महिलाले पहिलोपटक आरोहण गरेका हुन्’, उनले भने, ‘धवलागिरिमा यसअघि नेपाली महिलाले सफल आरोहण गरेको रेकर्ड छैन।’
श्रेष्ठसँगै गएकी माया शेर्पालगायतले आरोहण गरे÷नगरेको पुष्टि हुन बाँकी रहेको शेर्पाले बताए। पत्रकारसमेत रहेकी गोरखा आरुघाटकी पूर्णिमाको टोलीले यसअघि गत वैशाख ३ गते म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ८०८१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेर कीर्तिमान बनाएको थियो।
पूर्णिमा अन्नपूर्ण हिमाल आरोहण गर्ने पहिलो नेपाली महिला टोलीका सदस्यसमेत हुन्। शेर्पा ९पथप्रर्दशक० पेम्बा शेर्पाको सहयोगमा पूर्णिमाले धवलागिरि आरोहण गरेकी हुन्। पूर्णिमा कारोबार आर्थिक दैनिकमा कार्यरत पत्रकार हुन्। उनले यसअघि सन् २०१८ मा सगरमाथा, २०१७ मा मनास्लु र २०१९ मा आमाडब्लम हिमालको आरोहण गरेकी थिइन्।
पूर्णिमाले आधार शिविर जानुअघि बेनीमा कोरोनाको दोस्रो लहर फैलिएपछि रोकिएको गत याममा गर्ने भनेको धवलागिरि आरोहण गर्ने लक्ष्य यसपालि पूरा गर्न लागेको बताएकी थिइन्। रासस


















