काठमाडौं । दुई बर्षअघि भएको एक हत्या प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र तत्कालीन आइजीपी सर्वेन्द्र खनालका बिरुद्ध जाहेरी दर्ता गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।
नेत्रविक्रम चन्द ञविप्लवझ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सर्लाहीका इन्चार्ज कुमार पौडेलको इन्काउन्टर घटनामा सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीशद्वय अनिकुमार सिन्हा र हरि फुयाँलको संयुक्त इजलासले २०७८ असोज १२ गतेका दिन थापा र खनालबिरुद्धको जाहेरी दर्ता गर्न आदेश दिएको हो ।
‘इन्काउन्टर’मा मारिएका पौडेलकी आमा दुर्गादेवी पौडेलले दिएको जाहेरी सर्लाही जिल्ला प्रहरी कार्यालयले दर्ता नगरेपछि त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको थियो । २०७६ असार ५ मा नेता कुमार पौडेलको प्रहरी गोलीबाट हत्या भएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोगले प्रहरीबाट पौडेलको हत्या भएको निष्कर्ष निकालिसकेको छ । जसमा संलग्न इन्सपेक्टर कृष्णदेवप्रसाद साह लगायतलाई पक्राउ गरेर मुद्दा चलाउन आयोगले सिफारिस गरे पनि ओली सरकारदिखि हालसम्म प्रहरीले अस्वीकार गर्दै आएको छ । साह तत्कालीन आइजीपी सर्वेन्द्र खनालको कार्यकालमा प्रदेश नम्बर २ मा अतिरिक्त आम्दानीका लागि राखिएका घुमुवा कमाण्डरका रुपमासमेत चर्चित थिए ।
खनालको निर्देशनमा साहको टोलीले पौडेललाई इन्काउन्टरका नाममा हत्या गरेको आरोप लागेको थियो । यो बिषय संसदमा पनि उठेको थियो । सत्ताको उन्मादमा ओली नेतृत्वको सरकारले गरेका धेरैजसो कूकर्महरु मध्ये यो घटना सबै भन्दा निन्दनीय र आततायी घटनाका रुपमा आलोचित बनेको थियो ।
सर्वोच्चको आदेशसँगै पौडेल हत्या प्रकरण नयाँ मोडमा पुगेको छ । सर्वेन्द्र खनालले सर्लाही जिल्ला प्रहरी कार्यालयलाई समेत जानकारी नदिई हेडक्वार्टरबाट साहको नेतृत्वमा प्रहरी खटाई कुमार पौडेललाई इन्काउन्टरमा मारिएको थियो ।


















