काठमाडौं । नेकपा एमालेमा ७० वर्षे उमेर हद कायम राखिएको छ। जारी विधान महाधिवेशनमा उठेका प्रश्नमाथि जवाफ दिँदै उपमहासचिव विष्णु पौडेलले उमेर हद कायमै हुने जनाएका हुन्।
उनले कार्यकालको बीचमा ७० वर्ष पूरा भएमा फरक नपर्ने बताए। पौडेलले एउटै कार्यकारी पदमा एक व्यक्ति दुईपटक भन्दा बढी उम्मेद्वार बन्न नपाउने व्यवस्था गरिएको पनि जनाए ।
‘कार्यकालका बारेमा कुनै कन्फ्युज छैन। एउटा व्यक्तिले उही तहको कार्यकारी पदमा दुई पटकमात्रै उम्मेदवार बन्न सक्ने हो। यो नै हुन्छ’, पौडेलले भने, ‘कुनै पनि कमिटीको कार्यकारी पदमा ७० वर्ष नपुग्दासम्म उम्मेदवार हुन पाइनेछ। कार्यकालको बीचमा ७० पूरा भएपछि त्यो कार्यकाल भरी काम गर्न पाइनेछ।’

















