काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आफू सभामुखको पदीय जिम्मेवारीप्रति सचेत रहेको बताएका छन्।
संघीय संसद सचिवालय कर्मचारी युनियनले विजया दशमी, दीपावली, नेपाल संवत् र छठ पर्वको अवसर पारेर सोमबार सिंहदरबारमा आयोजना गरेको कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पदीय जिम्मेवारी सभामुखले पूरा गर्न नसकेको भन्दै संसद अवरुद्ध पारिरहेका बेला उनले यस्तो जनाएका हुन्।
इतिहासले आफूलाई संघीय संसदको नेतृत्व गर्ने अवसर दिएको उल्लेख गर्दै सो पदलाई न्याय गर्नुपर्छ भनेर दिल भित्रैबाट प्रण गरिरहेको बताए। संसदलाई जीवन्त र जनमुखी बनाउने प्रतिबद्धता समेत दोहोर्याएका छन्।
संसदको कार्यभार असाधारण र असामान्य भएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न सबैलाई एकताबद्ध हुन आह्वान गरे। सभामुख सापकोटाले भने, ‘हामीले जुन प्रण गरेका छौं(संघीय संसदलाई जीवन्त र जनमुखी बनाउने। त्यो सूत्र वाक्यलाई मैले त सधैंभरी दिल र दिमागमा राखेर कार्यरूप दिन सकियोस् भनेर प्रयास गरिरहेको छु। संघीय संसदको कार्यभार असामान्य र असाधारण छ। यी जिम्मेवारी पूरा गर्नका लागि हामी एकताबद्ध होऔं।’
गुणस्तरीय कानुन बनाउने र त्यसको कार्यान्वयन भएरनभएको अनुगमन गर्ने काम पनि आफूले दृढतापूर्वक अघि बढाइरहेको दाबी गरे। विवेक र चेतनाको संयोजनबाट मात्रै सही निर्णय लिन सकिने धारणासमेत उनले राखे।















