बालुवाटारमा बसेको बैठकले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी सहमति

53

काठमाडाैं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच आज बालुवाटारमा बसेको बैठकमा कुन दलले कुन मन्त्रालय लिने भन्नेबारे मोटामोटी रूपमा सहमति भएको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवबीच आज छलफल भएको थियो। बालुवाटार स्रोतका अनुसार मन्त्रालय भागबन्डाबारे मोटामोटी सहमति भएको छ। जसअनुसार कांग्रेसले अब सञ्चार, महिला बालबालिका तथा जेष्ठ नागरिक र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय लिने भएको छ।

कांग्रेसले यसअघि गृह, परराष्ट्र, कानुन मन्त्रालय र स्वास्थ्य राज्यमन्त्री पनि लिइसकेको छ। कांग्रेसले जम्मा सात मन्त्रालय लिने सहमति भएको थियो। यस्तै नेकपा माओवादी केन्द्रले अब भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, खानेपानी, कृषि तथा पशुपंक्षी मन्त्रालय लिने मोटामोटी सहमति छ।

माओवादीले अर्थ र ऊर्जा मन्त्रालयमा मन्त्री पठाइसकेको छ। नेकपा (एकीकृत समाजवादी)ले रक्षा, संस्कृति पर्यटन तथा नागरिक उड्डयन, उद्योग वाणिज्य तथा आपूर्ति, सहरी विकास, युवा तथा खेलकुद मन्त्रालय लिने सहमति छ।

जनता समाजवादी पार्टीले भौतिक पूर्वाधार तथा यातायात, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, वन तथा वातावरण र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय लिने मोटामोटी सहमति छ। बालुवाटार स्रोतका अनुसार बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने गरी तयारी गरिएको छ। गत असार २९ मा कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएता पनि  हालसम्म कांग्रेसबाट तीन मन्त्री र २ राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here