ग्लास्तनोस्त र पेरेस्त्रोईकाको नेपाली अनुवाद हो जबज !

71

– निमकान्त पाण्डे

नेकपा एमालेको बिधान महाधिबेशन सुरु हुँदैछ । देशमा अमेरिकी र भारतीय साम्राज्यबादको स्वार्थमा नेपाललाई एमसीसी सम्झौताको त्रास सुजना गरिएको छ । पार्टीका बिधानका बुँदाहरु संशोधन गरेर नेताहरुको स्वार्थलाई केन्द्रमा राखेर बहस गर्नु भन्दा  नेपाललाई साम्राज्यबादीहरुको उपनिवेश बन्नबाट कसरी बचाउने भन्ने सवाल अहिलेको अहम् सवाल हो ।

 मदन भण्डारी हालसम्म बाँचेका भए जबजलाई परिमार्जन गरेर धेरै अगाडि बढिसक्नु हुन्थ्यो र नेकपा एमालेलाई देश र जनताको सच्चा पार्टीका रुपमा पनि स्थापित गर्न सफलता हासिल गरिसक्नु हुन्थ्यो भन्ने जस्तो लाग्छ ।

मदन भण्डारीले जुनबेला जबजको लाईन भन्दै संसदबादलाई नयाँ आवरणमा प्रस्तुत गरेर पाचौं महाधिबेशनबाट जवजको कार्यदिशा पारित गराउनु भएको थियो , त्यतिबेला जबजलाई संसदबाद भन्दा फरक खालको राजनीतिक कार्यदिशाका रुपमा प्रचार गरिएको थियो । तर मैले त्यतिबेलै एमाले पार्टी संसदबादमा पतन भएको निष्कर्षसहित आफ्नो धारणा प्रस्तुत गरेको थिएँ, त्योबेला मैले सम्पादन गर्ने योजना साप्ताहिकमा । संसदबादी धारभन्दा बाहिर रहेका राजनीतिक शक्ति र ब्यक्तिहरुलाई समेट्न सकिने सोचका साथ जवज नामको बिचार मदन भण्डारीले अघि सार्नु भएको थियो भन्ने कुरा केही दृष्टान्तका आधारमा भन्न सकिन्छ ।

मदनले संसदबादको बिकल्पमै जबज अघि सार्नु भएको हो भन्ने प्रमाणका रुपमा कांग्रेसले गरेको निजीकरणका बिरुद्धमा उहाँले जोडदार रुपमा आवाज उठाउनु भएको थियो भने संसदबादी सरकारको नेतृत्व गरेका तत्कालीन प्रधानमंत्री गिरिजाप्रसाद कोईरालाले भारतसित गर्नु भएको टनकपुर सम्झौताका बिरुद्ध संसद बैठकमा उहाँको प्रस्तुतिले नै स्पष्ट गर्दछ उहाँको सोचको जवज देशभक्ति भावनाको पनि थियो । टनकपुर सम्झौतामा गम्भिर राष्ट्रघात भएको दाबी गर्दै लगातार ८ घन्टासम्म मदनले संसद बैठकको रोष्ट्रम घेराउ गर्नु भएको थियो । मदनकै अडानले टनकपुर सम्झौतालाई सच्याउन सफलता प्राप्त भएको थियो ।

तर मदनको देशभक्तिलाई मदनको हत्यापछिका जबजबादीहरुले निरन्तरता दिन सकेनन् । महाकाली सन्धि, अरुण तेस्रो, माथिल्लो कर्णाली र अहिले एमसीसीको सवाल लगायतका नेपालका बिकासका पूर्वाधारका रुपमा रहेका महत्वपूर्ण जलसम्पदाहरु भारतलाई सुम्पिने काममा जबजलाई मार्क्संबादको परिमार्जन भन्दै बिचारको बिचलनमा फसेका छन् नेताहरु!  जवजलाई  संसदको उपयोग गर्ने नभएर संसदबादको पुच्छर बनाईयो र संसदबादलाई पनि साम्राज्यबादको  दलाल बनाईयो ।

मदन भण्डारी देशभक्त र दूरद्रष्टा पनि हुनुहुन्थ्यो भन्ने कुरा टनकपुरको सवालमा उहाँले नेतृत्व गर्नु भएको आन्दोलनले स्पष्ट गर्छ । परन्तु मदनले जबजलाई संसदबाद भन्दा फरक राजनीतिक कार्यदिशाका रुपमा प्रयोग गरेर देखाउन खोज्दा खोज्दै उहाँको रहश्यमय हत्या गरेर उहाँको बिचारलाई नै समाप्त पार्ने काम भएको देखिन्छ । मदनको निधनपछि जबजलाई संसदबाद भन्दा फरक बिचारका रुपमा नभएर समान संसदबादको निरन्तरताका रुपमा प्रयोग गर्ने काम भयो ।

मदनको हत्यापछि जबज र संसदबादमा कुनै भिन्नता छैन भन्ने कुरालाई पुष्टि गर्ने गरी एमाले पार्टीका गतिबिधिहरु भैरहेका छन् । संसदबादका सबैखाले बिकृतिहरुको निरन्तरता जबजले अंगिकार गरेको छ । त्यसैले अब जबजलाई दलाल संसदबादको निरन्तरता भन्दा फरक अर्थमा बुझ्नु गलत बुझाई हुने निश्चित छ ।

मदन भण्डारीले जबजमा मार्क्सबादीहरुबीचको प्रतिस्पर्धाको परिकल्पना गर्नु भएको थियो । तर अहिलेका जबजबादीहरुले मार्क्सबादीहरुलाई समाप्त पार्न साम्राज्यबादीहरुको सहयोग लिने प्रयास गरिरहेका छन् र साम्राज्यबादीहरुका सामु लम्पसार पर्ने काम गरिरहेका छन् । त्यत्तिमात्र हैन, केपीले जबजबादी माधवलाई सिध्याउन चाहिरहेका छन् र माधवले जबजबादी केपीलाई पनि निमिट्यान्न पार्न प्रयत्न गरिरहेका छन् ।

आफैबीचमा शत्रुतापूर्ण लडाई गरेर जबज बाहिरका संसदबादीहरुसँग साँठगाँठ गर्ने काममा जबजबादले निर्देशित गरिरहन्छ भने त्यो जबजबाद मार्क्सबाद होईन भन्ने कुरा स्पष्ट हुन्छ । त्यो दलालबाद नै हो । त्यो ग्लास्तनोस्त र पेरेस्त्रोईकाको नेपाली अनुवाद हो । ग्लास्तनोस्त र पेरेस्त्रोईकाले सोभियतसंघलाई बिभाजन गरेर बिश्वकै कम्यु्निष्ट शक्तिलाई कमजोर बनाएर साम्राज्यबादको स्वार्थ पूरा गरेको हो । जवजले पनि ठीक त्यसैगरी एकीकृत भैसकेको नेपालको कम्युनिष्ट शक्तिलाई धराशायी बनाएर नेपाली कम्युनिष्ट आन्दोलनलाई नराम्रोसँग धक्का दिएको स्पष्ट छ ।  त्यसैले पनि जबज भनेको संसदबादको नयाँ आवरणमा आएको कुकुरको मासु बेच्नेहरुको समूह नै हो भन्ने कुरा स्पष्ट हुन्छ । एमाले नेताहरुका बिभाजित अवस्था , दुबैपक्षबाट जवजकै गीतापाठ र  एमसीसीपरस्त उनीहरुका  पछिल्ला गतिबिधिहरुबाट त झनै स्पष्ट भैरहेको छ जवज समाप्तिको बाटो हो । आगे जबजलाई मार्क्सबाद ठानेर दलालबादको पुजारी बनिरहेका नांगो बादशाहहरुलाई सजिसजाउ देख्ने भारदारहरुलाई चेतना भया !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here