विना संकोच खस नै हुन् भन्न सकिने नेपालका कुन कुन जात थरहरु हुन् ?

13

–चन्द्रप्रकाश बानियाँ

जनगणनाको अन्तिम टिपोट गरिसक्नुपर्ने मिति २०७८ मंसिर ९ गतेलाई तोकिएको छ । उक्त मितिसम्म सबै घरघरमा गणकहरु पुग्नेछन् र सबैको पारिवारिक विवरण टिपोट गर्नेछन् । अघिल्लो गणना २०६८ मा भएको थियो । हरेक दश दश वर्षमा गरिने भएको हुनाले नियमित रुटिन कार्यक्रम हो तापनि अघिल्ला जनगणनाहरुमा नउठेका विषयहरु यसपटक चर्चामा छन् । खासगरेर जाति र धर्मको बारेमा समाजले निकै रुचि राख्न थालेजस्तो देखिएको छ । जाति र धर्मको बारेमा नेपाली समाज विभक्त भएको जस्तो देखिन्छ । कसैले कसैले जानिबुझिकन विषयलाई उत्तेजक बनाउने प्रयत्न गर्नथालेको पनि देखिन्छ । एकजना भूईफुट्टा विद्वानले त अघिल्लो जनगणनाकोभन्दा भिन्न परिणाम आयो भने देशमा रक्तपात मच्चिन्छ भन्ने धमास सार्वजनिक गरेका छन् ।

आखिर जनगणनामा त्यस्तो विशेष कुरा के रहन्छ जसबाट सिङ्गो समाज तर्सनु पर्छ त ? जनगणनामा जनसंख्याको यथार्थ तस्वीर आओस्, दायाँ वायाँ नगरियोस्, हिजो गल्ती कमजोरी भएको छ भने पनि यसपटक नदोहोरियोस् । गल्तीहरु सच्याइउन् । सोझो मनले भन्न सकिने कुरा यत्ति थियो । हुनुपथ्र्यो । परिणाम आफूले भनेजस्तो आउनुपर्छ, होइन भने देख्लास् पर्खलास् भन्नु दादागिरी हो । कसैको पाखुरा हेरेर जनगणनाको रिपोर्ट बनाउने कि जनताले टिपाएको सत्यतथ्य रिपोर्ट जस्तोको तस्तै प्रकाशित गर्ने ? जनगणनाको मुखैमा सार्वजनिक भएको धम्की धमासको आधारमा के भन्न सकिन्छ भने  यस अघि जनगणनामा जालझेल गरिएको रहेछ । फर्जी विवरण सार्वजनिक गर्ने गरिएको रहेछ । दुरुस्त उस्तै विवरण आउनुपर्छ भन्नुको अर्थ पुरानो कुकृत्य दोहोरिनुपर्छ भनेको होइन कसरी भन्नु ?

अघिल्ला जनगणनामा आएका विवरणहरु विशेष स्वार्थवश प्रायोजित गरिएका रहेछन्, तोडमरोड गरेर बनाइएका रहेछन्, सत्य ढाकछोप गर्ने जालसाँज भएको रहेछ भनेर किन नबुझ्ने ? दश वर्षको अवधिमा जनतामा चेतना बढेको छ । समाज थप सचेत भएको छ । सत्य तत्थ्य विवरणको महत्व बुझ्ने भएको छ । जालीझेली र रकमी तत्वको सातो खाने कारण त्यही हो  भनेर किन नभन्ने ?

मूख्यरुपमा जाति र धर्म त्यो जालीझेली समुदायको सरोकारको विषय हो । जाति आज एकै दिन वा एकै दशकमा बनेका होइनन् । हिजो पनि अनेकौं जातिको अस्तित्व थियो । त्यसैले गणनामा ती जातिहरु लेखिन्थे । टिपिन्थे । नेपालमा १०० भन्दा बढी जात जातिहरु छन् भनिन्छ । पहिचान भएका जनजातिहरुको संख्याले पाँच दर्जन नाघिसक्यो । बरु सत्य कुरा के हो भने अघिल्ला जनगणनाहरुमा सबै जातिहरुको गनिटिपी अभिलेखिकरण भएको थिएन । जनगणनामा जातिसंख्या जस्ताको तस्तै उत्रिएको थिएन । सबै मानिसहरुमा जाति र भाषाको बारेमा जानकारी नहुनु स्वभाविकै हो । भाषा बोलिन्छ तर नाम थाहा नहुन सक्छ । थर र जात लेख्ने अभ्यास छ तर जातिको जानकारी नहुन सक्छ । स्वभावतः विवरण त्रुटिपूर्ण आउने नै भो । त्यसमा गणकहरुको मात्रै गल्ती थियो भन्न पनि मिल्दैन ।

नेपाली समाज चेतनशील मात्रै होइन, जिज्ञासु पनि बन्दै आएको छ । हिजो ख्यालवास्ता नगरेको कुरा आज खोज्न थालेको छ । जानकारी लिने कोसिस गर्न थालेको छ । नयाँ नौला कुराको मात्रै होइन पुराना कुराहरुको पनि खोजीनिति गर्ने प्रवृत्तिको विकास हुँदै आएको छ । त्यसमा पनि आफैसंग सरोकार राख्ने जाति, भाषा र धर्मको बारेमा जिज्ञासा राख्नु, जान्न खोज्नु, खोजीनीति गर्नुलाई अन्यथा अर्थमा लिनु हुदैन । कुनै संघसंस्थाद्वारा चलाइएको अभियानका कारणले भन्दा पनि जान्ने बुझ्ने व्यक्तिको उत्कण्ठाको कारणले पनि जनगणनामा टिपाउनुपर्ने विषयप्रति सर्वसाधारणले जिज्ञासा राख्न थालेका छन् । गाउँको ठालु वा जनप्रतिनिधिले टिपाएको विवरणमा विश्वास नगर्ने र आफैले भराउने चेतना जागेको छ ।

जनतामा आएको त्यही चेतनाले एकथरी मानिसहरुलाई थर्हरी बनाएको छ र संयम र धैर्यको बाँध भत्किएर पोखिन थालेको छ । स्वभाविकरुपमा आउन सक्ने सत्यतथ्य विवरण र परिणामको पूर्वानुमानले उनीहरुको निद हराम गरिदिएको छ । नत्रभने प्रत्येक घरघर पुगेर संकलन गरिने विवरणमा पहिले नै शंकाको भरमा लङ्का पोल्ने धमास केलाई दिनुपर्छ र ? यस्तो वा उस्तो परिणाम आउनै पर्छ भन्नु आफ्नो कालो मन र कालै अनुहार सार्वजनिक गर्ने मुर्खता नभएर के हो त ? सत्यतथ्य परिणाम आओस् भनेर गणकहरु वा गणना गर्ने संस्थालाई सचेत गराउने कि हिजोकोभन्दा तलमाथि गर्न पाइन्न भनेर पाखुरा सुर्कने ?

एकथरी मानिसलाई गणनाको वास्तविक परिणामबाट कहालिनुपर्ने र पाखुरा सुर्कने अवस्थामा पु¥याउने कारण के होला भनेर अलिकता विमर्श गर्नु सान्दर्भिक नै हुनेछ । पहिले जातिको कुरा गरौैं । संविधानले नै नेपाल बहुजातीय र बहुभाषिक मुलुक हो भनेर स्वीकारेको छ । अर्थात नेपालमा अनेकौं जाति जनजातिहरुको बसोबास छ । जनगणनामा मानिसको टाउको मात्र किन गन्ने ? एक तिरले अनेक शिकार गर्नसकिने सम्भवाना छ भने किन अवसर खेर फाल्ने ? मानिस र समुदायसँग सम्बन्धित अन्य सामाजिक विषयवस्तुहरुको विवरण पनि किन संकलन नगर्ने भन्ने सोच राखेर मान्छेका टाउकासंगै अरु कुराको गणना गर्ने योजना बनेको हो । त्यसलाई अन्यथा अर्थमा लिनुपर्ने कारण के छ र ? मरेको लास घरभित्र लुकाउँदैमा काल फर्केर जाँदैन । गुरुङहरुले कहिल्यै आफूलाई ब्राह्मण भन्दैनन् । राइहरुले आफूलाई मगर लेखाउँदैनन् । स्वभावतः यसपटक पनि उनीहरुले आफ्नो त्यो चेष्टा अर्थात आफ्नो जाति उल्लेख गर्न अवश्य छोड्दैनन् । जातिको महलमा परम्परागत जातिकै गणना विवरण आउने छ ।

पञ्चायत कालमा “एक भाषा, एक भेष” मात्रै होइन, “एक जाति, एक देश” को महेन्द्रिय अवधारणालाई कडाईका साथ परिपालन गराउने चेष्टा गरिएकै हो । भेष जस्तो परिवर्तनीय जाति र भाषा नहुँदो रहेछ । पञ्चायतको तीनदशकको कसरतले एउटा पनि जाति र भाषाको अस्तित्व मेट्न सकेन । हिजोको समाज राज्यसंग डराउँथ्यो । दब्बु पनि थियो । असचेत थियो । तैपनि जातिभाषा मेट्ने अभियान सफल भएन । जमाना फेरियो । समाज अपेक्षाकृत चेतनशील बन्यो । सजग र जागृत भयो । कुना कन्दराका मानिसहरुले पनि यसपटक आफ्नो जाति, भाषा र धर्मको वास्तविक विवरण टिपाउने छन् भनेर आशा गर्न सकिन्छ । उसै पनि दश वर्षको समय भनेको आधा पुस्ताको हो । दश वर्षमा आधा मान्छेहरु नयाँ अनुहारका आइसकेका छन् । नयाँ पुस्तालाई न “रे रे” मा भुलाउन सकिन्छ, न झुक्याउन सकिन्छ । यसपटक आउने जनगणनाको परिणाम पनि सतप्रतिशत साँचो आउला भन्न त सकिन्न । अझै पनि असचेत वा अर्धसचेतहरुको संख्या कम छैन । तैपनि अघिल्ला विवरणहरुभन्दा यसपटकको गणना विवरण सत्यको अल्लि नजिक पुग्ने छ ।

जहाँसम्म जनजाति समुदायहरुको कुरा हो उनीहरु आफ्नो जातिको बारेमा स्पष्ट छन् । धर्मको बारेमा भने त्यस समाजमा भ्रम र अन्योल छ । अस्पष्टता देखिन्छ । अलमल छ । धर्म उसै पनि स्वेच्छिक विषय हो । एउटै परिवारभित्र पाँचथरी धर्म मान्नेहरु रहन बस्न सक्छन् । त्यसैले जनजाति अभियन्ताहरुले जति बल गरेपनि धर्मको मामलामा यथार्थ विवरण आउन गाहैं्र पर्नेछ । कसैले नजानेर हिजो पञ्चायतकालदेखि लागेको बानी छोड्ने छैनन् । आफूलाई हिन्दू धर्मी भनाउनेछन् । जानेरै हिन्दू धर्म मन पराउनेहरु पनि होलान् । स्पष्ट जानकारी नहुनेहरुले जे जे लेखिदिए पनि हुन्छ भनेर गणककै जिम्मामा छोडिदिन पनि सक्नेछन् ।

अघिल्ला जनगणनाका फारमहरुमा आफ्नो धर्मको उल्लेख नभएकोले हिन्दू धर्म लेख्नेहरु पनि थिए होलान् । आफ्नो धर्म उल्लेख गर्ने व्यवस्था नभएकोले जानेर पनि खुम्चिनु परेको मर्का पनि थियो होला । त्यस्तो बेला गणकहरुले सबैलाई हिन्दू अथवा आफूले मान्ने धर्म लेखिदिए होलान् । यसपटक भने त्यस्तो परम्परा र प्रवृत्ति दोहोरिने सम्भावना निकै क्षीण छ । त्यसैले यसपटकको गणनामा हिन्दू धर्मीहरुको प्रतिशत कम हुन सक्छ ।

स्वभाविक परिणति भन्दा पनि सम्भावित परिणामको अनुमानले हिन्दूवादीहरुको टाउको दुखेको हुनुपर्छ । उनीहरुलाई खस अभियानको हाउगुजीले अत्तालिनुपर्ने बनाएको होला । खस जातिसंग सम्बद्ध केही संघसंस्था र स्वतन्त्र व्यक्तिहरुले “खस अलगै जाति हो, जनगणनामा आफ्नो जाति स्पष्ट उल्लेख गर्नुपर्छ” भनेर समाजमा चेतना छर्ने कोसिस गरिरहेका छन् । खस अभियान उति सशक्त त छैन, तैपनि निकै ठूलो संख्याले आफूलाई खस मान्न थालेको छ । खासगरेर, कर्णाली र सुदूर पश्चिम प्रदेशमा खस अभियानको राम्रै प्रभाव पर्न थालेको छ । पछिल्लो भाषा आयोगको रिपोर्टमा खस भाषाप्रतिको दुराग्रह देखिएको कारणले पनि खस समाज थप सजग बन्न गएको छ । संविधानमा परेको खस–आर्यको क्लस्टर छुट्टिनुपर्छ, सच्याइनुपर्छ भन्ने माग भुसको आगोझैैं खस समाजमा फैलन थालेको छ । त्यो आगोको सानो झिल्को यसपटकको जनगणनामा अवश्य देखापर्नेछ । त्यही सम्भावनाले खसको काँधमा चढेर अग्लिने सपना देख्नेहरुको निद हराम गरिदिएको हो । अनावश्यक उत्तेजनाको कारण त्यही हो । विविकेरुपी वस्त्र फ्याँकेर सडकमा नाङ्गै मार्च गर्नुपर्ने अवस्थामा पु¥याउने कारण पनि त्यही हो ।

खस समाज मूलतः हिन्दू धर्मावलम्वी नै रहँदै आएको छ । खसहरुले उठाउन थालेको विषय जातिको मात्रै थियो । अर्थात आर्य र खस एउटै होइन । खस–आर्य नामको जाति नश्ल यो धर्तीमा कहीँ कतै छैन । खस र आर्य अलग जाति समुदाय हुन् भन्ने कुरा धु्रव सत्य हो । दुबै जातिलाई एउटै टोकरीमा राख्नु गलत हो । त्यसबाट एउटा ऐतिहासिक जातिको अस्तित्व नामेट हुन्छ । खस जातिको लामो र गौरवपूर्ण इतिहासले जातिको वस्तुसत्यको कथा सुनाउँदै छ । ऐतिहासिक तथ्यलाई पैतालमुनी हालेर आर्यसंग जोड्नु गलत हो  । गलत मात्रै होइन, जालझेल र षडयन्त्र हो । जातिको अस्तित्व समाप्त पार्ने अपराध पनि हो । धर्मको दृष्टिले आर्यसँग संगसंगै रहेपनि खसको जाति फरक हो । हिन्दू धर्म ग्रहण गर्दैमा गैरआर्यको जाति आर्यमा रुपान्तरण हुँदैन । खसहरुले धर्म मात्र बदलेका हुन् । जाति बदलेका होइनन् । वास्तवमा खसहरुले प्रारम्भमा उठाएको् विषय त्यत्ति थियो ।

खस अलग जाति हो भने धर्म पनि फरक होला, खसको धर्म के हो ? रीतिस्थिति र संस्कार संस्कृति कुन हो ? भन्ने खालका प्रश्नहरु खसहरुसमक्ष हिन्दूवादीहरुले तेर्साउन थाले । धर्म र जात फरक कुरा थियो । जो कसैले जुनसुकै धर्म अवलम्बन गर्न सक्दछ  । एउटै मानिसले पटक पटक धर्म परिवर्तन गर्न पनि सक्छ । धर्म मान्दिन, तथस्ट रहन्छु भन्न पनि पाउँछ । धर्म नमान्दैमा समाजमा चलेका रीति परम्पराबाट अलग हुनुपर्छ भन्ने होइन । धर्म फेर्न मिल्छ । जाति बदल्न पाइदैन । मिल्दैन । धर्म आस्था हो । आस्था परिवर्तन हुन सक्छ । जाति भनेको रक्त, वंश र डिएनएसंग जोडिएको विषय हो । कैयौं गैरआर्यहरुले हिन्दू धर्म गरेका होलान् । कुनै गोराले हिन्दू धर्म लिँदैमा उ भारतीय मूलको आर्यमा फेरिदैन । फेरिने धर्म र आस्था मात्र हो । भारतीय आर्यहरुमध्ये कैयौंले क्रिश्चियन धर्म लिएका होलान् । तिनको जाति फेरिएर एङ्लनो अर्थात गोरो भएको छैन । धर्मसंग जातिको सम्बन्ध हुदैन । जुनसुकै जातिको मान्छेले जुनसुकै धर्म लिन सक्छ । तर खसहरुलाई खुइलाउने दुराशयबाट सोधिएको “तिम्रो धर्म के हो” भन्ने आर्यहरु खासगरेर ब्राह्मण पुरेतहरुको प्रश्नले खस अभियन्ताहरुलाई आफ्ना पुर्खाले कुन धर्म मान्थे भनेर इतिहास पल्टाउन  वाध्य बनाएको हो ।

इतिहास सांक्षी छ– सोह्रँैं शताब्दी अर्थात आजभन्दा ४०० वर्ष अगाडिसम्म दक्षिण एशियामै सबभन्दा ठूलो साम्राज्य खसहरुकै थियो । सिँजा केन्द्र बनाएर खसहरुले ४÷५ सय वर्षसम्म पश्चिम तिब्बतको ङारी प्रदेश, गुङ्गेपुराङ, कुमाउ गढवाल, कहिलेकहीँ त अफगानिस्तान अर्थात गान्धार प्रदेशसम्म, पूर्वमा त्रिशुली नदीसम्म र दक्षिणमा शिवालिक पर्वत श्रृङखलाभित्र अखण्ड राज्य निर्माण गरेका थिए । खसहरुले बुद्ध धर्म मान्थे र खस साम्राज्यको अन्तकालतिर मात्र हिन्दू धर्म ग्रहण गरेका हुन् । जुम्ली राजा गगनीराजले पन्ध्रौं  शताब्दीको अन्ततिर खससमाजमा जनै वितरण गरेको कुराको इतिहास प्रमाण जीवित छ । जनै भिरेर पनि खसहरुलाई क्षत्रीको दर्जा मिलेको थिएन भन्ने कुरा जङ्गबहादुरको सबै खसहरुलाई क्षत्रीमा उकाल्ने उर्दीबाट स्पष्ट हुन्छ ।

खस समाजका लागि हिन्दू धर्म र वर्ण नयाँ हो । हिन्दू धर्म ग्रहण गर्नुपूर्व अवश्य खसको कुनै मौलिक धर्म संस्कृति हुनुपर्छ भन्ने अनुमान गर्नुपर्ने र डोरोमेलो फेलापार्ने चेष्टा गर्नुपर्ने कारण त्यही थियो । खस साम्राज्य जीवित रहेको जमाना देश र समाज धर्मद्वारा निर्देशित हुन्थ्यो । धर्मका आधारमा शासन प्रशासन र न्याय व्यवस्था चल्थ्यो । त्यसैले खसहरुको आफ्नो विशिष्ट धर्म संस्कृति अवश्य थियो । त्यो कुन थियो भन्ने विषयमा इतिहास खङ्गालेर तथ्यसम्म पुग्न बाँकी नै छ । तर खसहरु त्यतिखेर हिन्दू थिएनन् भन्ने कुरा भने पक्का हो । किनकि हिन्दू धर्मको उदगम र खसहरुको आगमन मार्ग मिल्दैन । भारतमा हिन्दू धर्मको विकास भएको हो, खसहरु मध्य एसिया, मध्यपूर्व, तिब्बत हुँदै नेपाल छिरेका हुन् ।

धर्मको डोरोमेलो के थियो भन्ने कुनै सवुत प्रमाण हात लागेको छ कि छैन भन्ने प्रश्न तिर जानु भन्दा पहलिे खसहरु आर्य होइनन् भन्ने कुराको तथ्य केलाउनतिर लाग्नु बेस हुनेछ । डिएनए परिक्षणबाट सत्यतथ्य खुट्याउने कार्य बाँकी नै छ । त्यो समय पनि एकदिन अवश्य आउने छ । त्यतातिर जानुपूर्व अलिकता खोजविन आर्य साहित्यमा गरौैं ।

आर्यहरुद्वारा रचना गरिएका वैदिक साहित्यहरु हजारौं वर्ष पुराना हुन् भनेर दावी गरिन्छ । तथ्य सत्य एकातिर राखेर उनीहरुको कुरा पत्याई दिउँ र साहित्यभित्र छिरेर अलिकता अवलोकन गर्ने कोसिस गरौैं । ती साहित्यहरुमा खस जातिको उल्लेख कहाँ कहाँ गरिएको छ भनेर खोजौं । खसहरुको आर्य समाजसंग कस्तो सम्बन्ध थियो ? सम्बन्ध कहिले जोडिएको थियो र तत्कालीन आर्य समाजले खसलाई कुन आँखाले हेर्थे ? खसहरुप्रतिको उनीहरुको व्यवहार कस्तो थियो ? खस र खसजातिको बारेमा आर्य मान्यता कस्तो थियो भन्ने कुरा जान्ने प्रयत्न गरौैं ।

वैदिक (संस्कृत) साहित्यहरुमा सबभन्दा पुरानो ऋगवेदलाई मानिन्छ । ऋगवेदले खस जातिलाई चिन्दैन । अर्थात खसको बारेमा वेदमा एउटा अक्षर पनि खर्च गरिएको छैन । त्यसको अर्थ वेदकालीन समाजसंग खस जातिको परिचय थिएन भन्ने लाग्दछ । वेदकाली विद्वानहरुले आफ्ना मित्रहरुको मात्रै होइन, शत्राुहरुको वर्ग दानव, दैत्य, राक्षस, पणी र म्लेच्छहरुको बारेमा उल्लेख गरेका छन् तर खस कतै देखिदैनन् ।

वेदपछि ब्राह्मण, संहिता, उपनिषदहरु लेखिए । ती ग्रन्थहरुमा पनि कहीँ कतै खस जातिको बारेमा एक अक्षर परेको छैन । एउटा वृहतसंहिता भन्ने पुस्तकमा खस जातिको बारेमा अलिकता उल्लेख भएको छ र त्यो ग्रन्थ निकै पछि अर्थात पुराणकालमा लेखिएको होला भन्ने अनुमान गरिन्छ । त्यसपछि सूत्र र स्मृतिहरु लेखिए । सूत्र र स्मृतिहरुमध्ये मनुस्मृतिमा बल्ल खस जातिको उल्लेख भएको छ । अर्थात आर्य समाजले हजारौं वर्ष लगाएर वेद लेख्यो, ब्राह्ण ग्रन्थ तयार पा¥यो, संहिता र सूत्रहरुको रचना ग¥यो । गौतम ऋषिहरुले सूत्र र स्मृतिहरु लेख्न थाले । त्यतिबेलासम्म उनीहरुको वरिपरि खस जाति थिएन । हुन्थ्यो भने अवश्य उल्लेख हुन्थ्यो । लेख्य प्रमाणलाई आधार मान्दा मनुस्मृति र महाभारतमा पहिलोपटक खस जातिको बारेमा उल्लेख भएको हो भन्न सकिन्छ । महाभारत जेठो हो कि मनुस्मृति भन्ने विवाद कायमै छ । प्रमाणले पुष्टि नगर्ने भएपनि मनुस्मृति र महाभारत इसाको दोश्रो शताब्दीसम्म लेखिसकिएको थियो भनेर दावी गरिन्छ र ती दुबै ग्रन्थमा खस जातिलाई स्पष्ट शब्दमा अनार्य भनिएको छ । हुण, शक, दरद जस्तै असभ्य, जंगली, व्रात्य र शुद्र भनिएको छ ।

महाभारतमा तुसार, यवन, दर्व, भिसार, दरद, साक, कामथ, रामथ, ताङ्गण, अन्धक, पुलिन्द, म्लेच्छ, किराँत र खस एकै किसिमका जातिहरु हुन् भनिएको छ । मनुस्मृतिमा झल्ल, मल्ल, नि, लिच्छवि, खस र द्रविड व्रात्य हुन भनिएको छ । हिन्दू संस्कार नअपनाएका हुनाले द्रविड, यवन, शक, पल्लव, चीन, किराँत, दरद र खस शुद्र हुन् भनिएको छ । वैदिक पण्डितहरुको त्यो परिभाषाले जात उक्लिनकै लागि खसहरुले जनै धारण गर्न थालेको हुन् भन्ने कुरा पुष्टि गर्छ ।

त्यसपछि पुराणहरु लेखिए । ब्रह्मपुराण, मत्स्यपुराण, मार्केन्डेयपुराण, निलमतपुराण, स्कन्दपुराण, वायुपुराण, हरिवंशपुराणहरु सबैले एकै स्वरमा खस जातिलाई अनार्य, व्रात्य, असभ्य, शुद्र भनेर लेखेका छन् ।

इतिहास प्रमाणले खसहरुलाई यस क्षेत्रमा सबैभन्दा ठूलो साम्राज्य स्थापना गर्ने बहादुर जातिको रुपमा स्थापित गरेको छ । त्यही जातिलाई हिन्दू धर्मग्रन्थहरुले निच, असभ्य, व्रात्य, म्लेच्छ, शुद्र भनेर हेपेका छन् । त्यति मात्र होइन स्पष्ट रुपमा अनार्य भनेर लेखेका छन् । हिन्दू साहित्यले फरक भनेर मानेको जातिसंग “यतिखेर तिमी हामी एकै हौं” भनेर नेपालका आर्यहरुले कुन स्वार्थले भन्दैछन् ? यो एउटा विचारणीय प्रश्न हो ।

स्पष्ट कुरा केहो भने धर्मसंस्कृति केही शताब्दी एउटै रहेको भए पनि भाषा, रीतिपरम्पराहरु खस र आर्यका फरक फरक छन् । दुबैमा घालमेल भएको छ । तैपनि केही परम्पराहरु फरक छन् । ती परम्पराहरु आजसम्म पनि जीवत छन् । खसहरुले मान्ने देवता मष्टको हिन्दू धार्मिक ग्रन्थहरुमा कहीँ कतै उल्लेख छैन । कुल पूज्ने व्यवस्था हिन्दू व्रत उत्सव, तिथि पर्वमा पाइदैन । सांस्कृतिक दृष्टिले आर्यहरुसंग नमिल्ने अनेकौं रीति परम्पराहरु जिवितै छन् । हो, नेपाल छिरेका आर्यहरुसँग न उनीहरुको भाषा छ न रीतिसंस्कृति नै छन् । उनीहरुको पूर्णरुपमा खसकरण भएको छ । तर खसहरु जनै भिरकै कारणले आर्यमा विलय भैसके भन्न मिल्दैन ।

यतिखेर कुन कुन थर जात आर्य हुन् र कुन कुन जाति थरहरु खस जातिका हुन् भनेर स्पष्ट कित्ताकाट गर्न गाह्रो छ । तर जनै भिरेर हिन्दू भएका र जङ्गबहादुरको उर्दीबाट क्षत्री भनाइएकाहरु शुद्ध खस हुन् । बाहुनदेखि दलितसम्म खस जातिका वंशज होलान् । ती जातहरुमा खसहरु छैनन् भन्न सकिन्न । तर तत्कालको लागि खस को हो भनेर चिनाउने बलियो आधार पहाडीमूलको क्षत्रीवंश हो । कमसेकम सन्निकट जनगणनामा ती सबै नयाँ क्षत्रीहरु सबैले आफ्नो जाति खस र पुर्खाले बोल्ने भाषा पनि खस हो भनेर लेखाउनुै पर्छ । त्यसो गरिएन भने एउटा स्वर्णिम इतिहास कायम गरेको महाजातिको अस्तित्व संकटमा पर्नसक्छ । आफूलाई खस भनौैं, जातिको अस्तित्व जोगाउँ ।  जनधारणा साप्ताहिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here