नवरात्रको चौथो दिन कुष्माण्डा भगवतीको पूजा आराधना

119

काठमाडौं  ।    आज नवरात्रको चौथो दिन आइतबार नवदुर्गाको चौथो स्वरूप कुष्माण्डा भगवतीको पूजा आराधना गर्ने ‌‌‌‌‌‌‌‌चलन छ ।  यिनी ब्रह्माण्ड उत्पत्तिको कारक मानिएकी छिन्। सिंहमाथि सवार यिनको अष्टभुजामा कमण्डलु, कलश, धनु, वाण कमल चक्र गदा आदि छन्।

कुष्माण्डाको आराधनाबाट रोग, शोक र विभिन्न प्रकारका कष्ट निवारण हुने विश्वास गरिन्छ। नवरात्रमा प्रत्येक दिन एक–एक देवीको आराधना गर्ने परम्परा छ। घटस्थापना गरिएको स्थान वा विभिन्न शक्तिपीठमा पुगेर श्रद्धालुहरू शक्तिस्वरूपा भगवतीको आराधना गर्छन्।

नवरात्रमा भगवती दुर्गाका नौ स्वरूपको पूजा आराधना गरिन्छ। प्रत्येक दिन एक एक देवीको आराधना गरी नौ दिनमा नवरात्र अनुष्ठान पूरा गरिन्छ। पुराणअनुसार विभिन्न समयमा भगवती पार्वतीले लिएको रूपलाई नै नवदुर्गाका रूपमा पूजा आराधना गरिएको हो। दुष्टको विनाश र सज्जनको रक्षाका लागि देवी पार्वतीले समय–समयमा विभिन्न रूप लिएकी थिइन्। आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी घडामा आवाहन गरी नौ दिनसम्म दुर्गाका नौ स्वरूपको आराधना गर्ने परम्परा छ। यसै घडामा महाकाली–महालक्ष्मी–महासरस्वतीको पनि आराधना गरिन्छ।

देवी दुर्गा, आफ्नो चौथो स्वरूपमा कुष्माण्डा नामले प्रसिद्ध हुनुहुन्छ । ब्रह्म या अण्डलाई उत्पन्न गरेको कारण वहाँलाई कुष्माण्डा नामले चिनिन्छ । तीन नेत्रले युक्त देवी आफ्नो मस्तकमा अर्ध चन्द्र धारण गर्नेवाली, अष्ट भुजाहरूले युक्त, एवं आफ्नो भुजाहरूले नाना प्रकारको आभूषण धारण गर्ने, देवी कुष्माण्डा आफ्नो भुजाहरूमा चक्र, गदा, कलश, जप माला, कमण्डलु, धनुष, बाण तथा कमल पुष्प धारण गर्नुहुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here