काठमाडौं । अन्तरराष्ट्रिय बक्सर खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्। जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आइतबार दिउँसो आयोजना हुने ४९ औँ सस्करणको सो अन्तरराष्ट्रिय प्रतियोगितामा उनीसँग जापानका व्यवसायिक किक बक्सर फुजीमुराले रिङ्मा उत्रदैछन्। फुजीमुरा पनि के वान के बक्सिङ् प्रतिष्पर्धामा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन्। विश्वका चर्चित बक्सरको मात्र सो प्रतियोगितामा सहभागिता रहने बताइएको छ।
आज सामाजिक सञ्जालमा आयोजक सस्था सिमुरा डोजोले प्रतियोगितामा बक्सरद्वय घिमिरे र फुजीमुरा बीचमा हुने भिडन्तको अन्तिम तयारी पुरा भएको जनाएको छ। अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरेका छोरा अविरलले कोरोना कहरमा बीचमा सो प्रतियागिताका लागि बुवाकै विशेष प्रशिक्षणमा पूरा गरेको जनाइएको छ। प्रशिक्षक देवकुमारले आज सामाजिक सञ्जालमार्फत् प्रतियोगिताको आवश्यक अन्तिम तयारी सम्पन्न भएको जनाए। प्रशिक्षक देवले पनि सामाजिक सञ्जालमा भनेका छन्, ‘युवा बक्सर अविरलले पछिल्लो समय बक्सिङ्मा नयाँ उचाइ हासिल गर्नुभएको छ।
अविरलले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ चुम्नेमा म विश्वस्त छु। यो प्रतियोगितमा छनौट हुनु आफैमा प्रतिष्ठाको विषय हो। प्रतियोगिता हेर्न म सबैलाई आग्रह गर्दछु।’ सो प्रतियोगितामा विश्वका चर्चित बक्सरलाई मात्र रिङमा उतारिने गरिन्छ। ‘हिमालयन चितुवा उपाधि’ले विश्व प्रसिद्ध अविरलले गत चैतमा जापानको टोकियो शहरमा सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेका थिए। उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेका थिए। यसैगरी घिमिरेले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेका थिए। – रासस


















