चार हिमाल आरोही सम्पर्कविहीन

65

काठमाडाैं । सगरमाथा क्षेत्रमा रहेको ६ हजार ४ सय ७६ मिटर अग्लो मेरा पिक आरोहण गर्न गएका ४ जना सम्पर्कविहीन भएका छन्। सम्पर्कविहीन हुनेमा एक बेलायती नागरिकसमेत छन्।

मेरा पिकमा नृत्य गरेर गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गर्न गएको १५ सदस्यीय टोलीका २ जना र पिक आरोहण गर्न गएका अन्य २ जना हराइरहेको नेपाल पर्वतारोहण संघका अध्यक्ष शान्तवीर लामाले जानकारी गराए।

मौसम परिवर्तनसँगै हिमपात भएपछि उनीहरू हराएको लामाले जनाए । ‘सम्पर्कविहीन भएका ४ मध्ये ३ जनाको जिपिएस लोकसेन ५ हजार ६ सय मिटरको उचाइमा भएको ओडारमा देखिएको भए पनि उनीहरूसँग सम्पर्क टुटेको अवस्था छ,’ लामाले भने, ‘अर्का एक जना बाटोमा फर्कँदै गर्दा हराएकोजस्तो देखिन्छ।’

उक्त क्षेत्रमा १० फिटसम्म हिमपात भएको लामाले जनाए। हिमपातका कारण उद्दारका लागि हेलिकप्टर पठाउन नसकिएको उनले जनाए । बाटोमा फर्कँदै गरेको मान्छे ‘हाइ क्याम्प’मा नआइपुगेको उनले जनाए ।

‘हाइक्याम्पमा आइपुगेको अवस्थामा बाँच्न सक्छ’, लामाले भने, ‘बीचमा फसेको अवस्थामा हिमपातमा पुरिन सक्छ।’ लामाले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी र प्रहरीलाई खबर गरिएको जनाए । ‘उद्दारका लागि हामीले एउटा टोली पठाएका छौं,’ लामाले भने, ‘मौसममा सुधार नआउँदा हेलिकप्टरबाट उद्दार गर्न सकिएको छैन।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here