काठमाडौं । पछिल्लो समय आएको बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रमा विभिन्न किसिमका सरुवा रोग फैलिन सक्नेतर्फ सतर्कता अपनाउन चिकित्सकले आग्रह गरेका छन् ।
यसै महिना परेको अतिवृष्टिसँगै नेपालका हरेक क्षेत्रमा बाढीपहिरो तथा डुबान भएर हालसम्म १११ जनाभन्दा बढीको मृत्यु भइसकेको छ । अर्बौं रुपियाँबराबरको खाद्यबाली नोक्सान भएको छ । कतिपय बस्ती नै बाढीपहिरोमा परी विस्थापित हुन पुगेका छन् ।
वरिष्ठ सरुवा रोग विशेषज्ञ डा. अनुप बाँस्तोलाले बाढीपहिरो तथा डुबान प्रभावित जिल्लामा झाडापखाला, ज्वरो, कमलपित्त, टाइफाइड, जन्डिसलगायतका समस्या देखिन सक्ने जानकारी दिए। बाढीपहिरो गएको क्षेत्रमा सङ्क्रामक रोगको जोखिम भएकाले सतर्कता अपनाउन उनले सुझाव दिए।
बाढीपहिरो तथा डुबानबाट प्रभावित क्षेत्रमा झाडापखाला, ज्वरो, रुघाखोकी, जन्डिसलगायतका समस्या देखिने भन्दै उनले धनजनको क्षतिभन्दा स्वास्थ्य सतर्कता अपनाउनुपर्नेमा जोड दिए। खानेपानीमा दिसा मिसिएमा तथा बाढीले पानी फोहोर हुँदा रोग फैलिन सक्ने भन्दै उनले पानी उमालेर खान तथा पीयूूष मिसाएर पिउन आग्रह गरे।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेलले बाढीपहिरो तथा डुबान प्रभावित क्षेत्रको स्वास्थ्य समस्या र समाधानका लागि छलफल भइरहेको बताएको आजको गोरखापत्र दैनिकमा खवर छ ।
















