काठमाडौं । सरकारले परिचयपत्र नभएका विदेशी नागरिकलाई घर भाडामा नदिन र काममा नलगाउन आम नागरिकलाई अनुरोध गरेको छ।
सोमबार एक सूचना जारी गर्दै पछिल्ला केहीदिनमा कतिपय विदेशी नागरिक परिचय लुकाई अनधिकृत रुपमा नेपाल प्रवेश गरी बसोबास गर्ने प्रयास भइरहेको भन्दै परिचय नखुलेका विदेशीलाई घर वा फ्ल्याट भाडामा नदिन तथा काममा नलगाउन गृह मन्त्रालयले आग्रह गरेको हो।
कोही पहिचान नखुलेका विदेशी नागरिकहरु देखिए वा भेटिएमा नजिकको प्रहरी चौकीमा खबर गरिदिन मन्त्रालयले आम नागरिकसँग अनुरोध गरेको छ। सोमबार मात्रै केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले ११ अफगानी नागरिकलाई सिनामंगलको एक होटलबाट पक्राउ गरेको थियो। पक्राउ परेका मध्ये ३ महिला र ८ पुरुष रहेका छन्।
पक्राउ परेका मध्ये ६ जनासँग भारतीय आधारकार्ड पनि फेला परेको छ। ती आधारकार्डहरु नक्कली भएको पाइएको ब्यूरोले जनाएको छ। अफगानीस्तानमा तालिवानले सत्ता सम्हालेपछि उनीहरु भागेर भारत हुँदै नेपाल प्रवेश गरेको हुनसक्ने ब्यूरोको आशंका छ।



















